सृजनशील स्वाबलम्बन कृषि सहकारीद्वारा कौसी खेती-करेसाबारी तालिम एवं बिउ पूँजी वितरण

-



     सफल आवाज    
     जेठ ३ गते २०८३ मा प्रकाशित



पोखरा, ३ जेठ । पोखरा महानगरपालिका वडा नं ३ मा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारी संस्थाले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहकार्यमा कौसी खेती तथा करेसाबारी तालिम एवं बिउ पूँजी वितरण कार्यक्रम आईतबार पोखरामा सम्पन्न गरेको छ । तालिममा १२१ जनाकाे सहभागि भएका थिए ।

कौसी खेती तथा करेसाबारी तालिममा मुक्तिनाथ कृषि कम्पनीका प्राविधिकहरूले प्राविधिक सहजीकरण गरेका छन् । तालिमका मुख्य सहजकर्ता मुक्तिनाथ कृषि कम्पनीका अधिकृत मदन कँडेलले सहरी तथा अर्ध-सहरी क्षेत्रमा कौसी खेतीको व्यावसायिक र घरायसी महत्त्वबारे प्रकाश पार्नुभयो । उहाँले आधुनिक प्रविधि, कम्पोस्ट मलको सही प्रयोग, रोगव्याधि नियन्त्रण र सीमित ठाउँमा बढीभन्दा बढी उत्पादन लिने वैज्ञानिक तरिकाहरूबारे सहभागीहरूलाई प्रयोगात्मक जानकारी गराउनुभयो ।

त्यस्तै, सहजकर्ता एवं इन्टर्न सृष्टि पौडेलले करेसाबारी व्यवस्थापन, रैथाने बिउबिजनको जगेर्ना र घरमै उपलब्ध हुने जैविक फोहोरलाई मलका रूपमा कसरी सदुपयोग गर्ने भन्नेबारे व्यावहारिक अभ्यास गराउनुभएको थियो । मुक्तिनाथ कृषि कम्पनीको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिमले सहभागी सेयर सदस्यहरूलाई आत्मनिर्भर कृषितर्फ आकर्षित गर्न र विषादीमुक्त ताजा तरकारी उत्पादन गर्न ठुलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

सृजनशील स्वाबलम्बन कृषि सहकारी संस्थाका अध्यक्ष जगन्नाथ सुवेदीले सहकारीले बचत र ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यहरूको जीवनस्तर उकास्ने उत्पादनमुखी कार्यलाई जोड दिँदै आएको बताउनुभयो ।

कार्यक्रमको सभापतित्व गर्दै अध्यक्ष सुवेदीले सहरी क्षेत्रमा बढ्दै गएको विषादीयुक्त तरकारीको उपभोगलाई न्यूनीकरण गर्न कौसी खेती र करेसाबारी प्रवर्द्धन गर्न लागिएको स्पष्ट पार्नुभयो । उहाँले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न र संस्थाले प्रदान गरेको बिउ पूँजीको सही सदुपयोग गरी आत्मनिर्भर बन्न सबै सेयर सदस्यहरूलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३ का वडा सदस्य शान्तिदेवी पराजुलीले स्थानीय स्तरमा कृषि उत्पादन बढाउन सहकारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उपभोक्ताहरू बजारको महँगो र असुरक्षित तरकारीमा निर्भर भइरहेका बेला घरकै कौसी र करेसाबारीमा ताजा तरकारी फलाउन यो तालिम कोसेढुङ्गा साबित हुने उहाँको भनाइ थियो ।

वडा सदस्य पराजुलीले वडा कार्यालयका तर्फबाट पनि यस्ता उत्पादनमुखी र महिला लक्षित सीपमूलक कार्यक्रमहरूलाई आगामी दिनमा थप प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अबका वर्षमा वडाबाट यस्ता कार्यकाे लागि वजेटकाे व्यवस्था गर्न अग्रसर हुने बताउनु भयाे ।

जिल्ला कृषि सहकारीका निवर्तमान अध्यक्ष, संस्थाका लेखा संयोजक तथा कार्यक्रम सञ्चालक फणिन्द्र पौडेलले सहकारीको पुँजीलाई उत्पादनशील र सीपमूलक क्षेत्रमा परिचालन गर्दा मात्रै संस्था र सदस्य दुवैको हित हुने विचार व्यक्त गर्नुभयो । उहाँले संस्थाले प्रदान गरेको बिउ पूँजी सानो देखिए पनि यसले उद्यमशीलताको सुरुवात गर्न ठुलो ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक पारदर्शिता र उत्पादनमुखी लगानी संस्थाको प्राथमिकता रहेको चर्चा गर्दै संयोजक पौडेलले तालिमपश्चात् सदस्यहरूको करेसाबारी र कौसीको अनुगमन गरी उत्कृष्ट कार्य गर्नेलाई थप प्रोत्साहित गरिने जानकारी समेत दिनुभयो ।

सहकारीकी काेषाध्यक्ष गीता कुँवरले सीमित ठाउँ र स्रोतसाधनको प्रयोग गरेर पनि घरपरिवारका लागि आवश्यक पर्ने हरियो तरकारी सहजै उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले कौसी खेती र करेसाबारी व्यवस्थापन गर्दा घरको फोहोर व्यवस्थापनमा समेत मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

तालिमका सहभागीहरूलाई बिउ पूँजी वितरण गरिएकाे र यसले महिलाहरूलाई आर्थिक र पोषणका हिसाबले स्वावलम्बी बनाउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रस्ट पार्नुभयो ।