सेबोन अध्यक्ष छनोट समितिकाे आज पहिलो बैठक बस्दै, ५ जनाको सर्टलिस्ट तयार पारिने

-



     सफल आवाज    
     जेठ ४ गते २०८३ मा प्रकाशित



पोखरा, ४ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विगत करिब एक महिनादेखि रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि प्रक्रियाले पुनः गति लिन थालेको छ। अध्यक्ष नहुँदा पुँजी बजारका धेरै महत्त्वपूर्ण काम र नीतिगत निर्णयहरू रोकिइरहेका बेला सरकारले अध्यक्ष छान्न बनेको समितिको संयोजक परिवर्तन गरेको हो।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य अध्यक्ष छनोट समितिको नयाँ संयोजक चयन भएका छन्। नयाँ संयोजक तोकिएसँगै समितिको पहिलो बैठक आज (सोमबार) बस्दैछ।

५ जनाको सर्टलिस्ट र नियुक्तिको कानुनी प्रक्रिया

अर्थ मन्त्रालयले धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारहरूको नाम आधिकारिक रूपमा सार्वजनिक नगरे पनि यसपटक कुल ४७ जनाको आवेदन परेको छ। आज बस्ने छनोट समितिको बैठकले ती ४७ जना आवेदकहरूमध्येबाट योग्यता र कार्ययोजनाका आधारमा ५ जनाको संक्षिप्त सूची (सर्ट लिस्ट) तयार पार्नेछ।

त्यसपछि ती ५ जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण लिइनेछ। अन्तर्वार्तापछि छनोट समितिले उत्कृष्ट ३ जनाको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाउनेछ। मन्त्रिपरिषद्ले ती ३ जनामध्येबाट उपयुक्त १ जनालाई आगामी ४ वर्षका लागि धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ।

दौडमा पुराना र प्रभावशाली अनुहारहरू

यसपटक सेबोनको नेतृत्व हत्याउन बैंकिङ र पुँजी बजार क्षेत्रका थुप्रै प्रभावशाली व्यक्तिहरू दौडमा छन्। आवेदकको सूचीमा:

  • नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र,
  • पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी,
  • राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट,
  • धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, र
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्की जस्ता स्थापित पुराना अनुहारहरू रहेका छन्।

यसका साथै, पछिल्लो राजनीतिक समीकरण र परिवर्तनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मानिने व्यक्तिहरूले पनि ठूलो संख्यामा आवेदन दिएको स्रोतको दाबी छ।

नियुक्ति जेठ १५ को बजेटपछि मात्रै हुने निश्चित

छनोट समितिले आजबाट औपचारिक रूपमा काम सुरु गरे पनि जेठ १५ गते आउन लागेको आगामी आर्थिक वर्षको बजेटअघि नै नयाँ अध्यक्ष आउने सम्भावना भने निकै न्यून देखिएको छ।

हाल अर्थ मन्त्रालय आगामी वर्षको बजेट निर्माणमा पूर्ण रूपमा व्यस्त छ। छनोट समितिमा रहने अर्थ सचिव डा. घनश्याम उपाध्यायको मुख्य प्राथमिकता यतिबेला बजेट लेखन नै रहेको छ। बजेटको चटारोका कारण धितोपत्र बोर्डको नयाँ अध्यक्षको अन्तिम नियुक्ति जेठ १५ गतेको बजेट भाषणपछि मात्रै हुने निश्चितप्रायः देखिएको छ।