मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ: अर्थमन्त्री डा. वाग्ले

-



     सफल आवाज    
     जेठ ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उहाँले यस्तो कुरा बताउनुभएको हो। बैठकमा अर्थमन्त्री डा. वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले जनमतको प्रमुख अपेक्षा नै सुशासन रहेको धारणा राख्नुभयो। नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका कामहरू जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको समेत उहाँको भनाइ थियो।

अर्थमन्त्री डा. वाग्लेले ग्रे लिस्टबाट बाहिरिन तत्काल र नियमित रूपमा गर्नुपर्ने कामहरू सम्बन्धित सरकारी निकायहरूले अघि बढाइरहेको तथा त्यसको निरन्तर मूल्याङ्कन भइरहेको जानकारी दिनुभयो। पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रे लिस्टसम्बन्धी सूचकमा नेपालको अवस्थामा सुधार आएको समेत उहाँले दाबी गर्नुभयो।

सोही कार्यक्रममा एपीजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले भने नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गर्नुभयो।

उक्त महत्वपूर्ण छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्क फोर्स–एफएटीएफ) ले २०८१ फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो। उक्त सूचीबाट बाहिरिनका लागि नेपालले हाल १५ बुँदे सुधारका कार्ययोजनाप्रति प्रतिबद्धता जनाउँदै सोहीअनुसार द्रुत गतिमा काम गरिरहेको छ।