
काठमाडौं, ८ जेठ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वार मानिने चन्द्रागिरि नगरपालिका क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी र प्रविधिमैत्री बनाउन नगरपालिका र नेपाल प्रहरीबीच सिसि क्यामेरा जडान गर्ने सम्झौता भएको छ।
चन्द्रागिरिको नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा विभिन्न वडा कार्यालय जाने बाटोहरूमा सिसि क्यामरा जडान गर्न बिहीबार दुई पक्षबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको हो।
उक्त समझदारीपत्रमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गर्नुभयो।
आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास
सम्झौता कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम गिरीले काठमाडौँ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रविधिमैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताउनुभयो। सिसिटिभी जडानपछि नगरभित्र आपराधिक गतिविधि नियन्त्रण गर्न र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन ठूलो सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
त्यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो:
“सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ, स्थानीय सरकारले सुरक्षाको क्षेत्रमा गरेको यो लगानीको हामी उच्च कदर गर्दछौँ र समस्या समाधानमा प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।”
क्यामेराको सङ्ख्या १ हजार ५०० पुर्याइने
चन्द्रागिरि नगरपालिकामा हाल झण्डै ४०० वटा सिसि क्यामेराहरू सञ्चालनमा रहेका छन्। नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार नगरभित्रको सुरक्षालाई पूर्ण रूपमा भरपर्दो बनाउने लक्ष्यका साथ आगामी दिनमा यी क्यामराको सङ्ख्या थप गरी कुल १ हजार ५०० पुर्याइने छ। सोही उद्देश्य प्राप्तिका लागि नेपाल प्रहरीसँग यो महत्वपूर्ण सम्झौता गरिएको प्रवक्ता खड्गीले जानकारी दिनुभयो।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




