
काठमाडौं, १३ जेठ। आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेट सार्वजनिक हुनुअघिको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार सामान्य अंकले घटेको बजारमा बुधबार भने सुधार देखिएको हो।
यस दिन नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले उकालो लागेको छ।

कारोबार रकम ६ अर्ब नाघ्यो
बजेटको पूर्वसन्ध्यामा लगानीकर्ताहरू उत्साही बन्दा सेयर बजारमा कारोबार रकमले पनि राम्रो गति लिएको छ। मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको मात्रै सेयर खरिदबिक्री भएकोमा बुधबार कारोबार रकम बढेर ६ अर्ब नाघेको छ।
यस दिन बजारमा ३५४ वटा कम्पनीको ६० हजार ५६२ पटकको कारोबारमा कुल ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कालिञ्चोक र बुंगल हाइड्रोपावरका लगानीकर्ताले कमाए
बुधबारको कारोबारमा कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको हो। त्यस्तै, बुंगल हाइड्रोपावरको सेयरमूल्य पनि साढे १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ।
यता, १०.२५ प्रतिशत ब्याजदर भएको ‘सानिमा डिबेञ्चर २०८९’ को मूल्य भने सर्वाधिक ६.६४ प्रतिशतले घटेको छ।
आँखु खोलाको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा कायम रहेको छ। सो कम्पनीको मात्रै एकैदिन ७१ करोड २२ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यसैगरी, सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरूमा रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढी र नेशनल हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
९ उपसमूहमा हरियाली, ४ ओटा घटे
बजारका कुल १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ।
बजेट अघि लगानीकर्ताको आकर्षण बढी देखिँदा बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेर बन्द भएका छन्। बजेटले पुँजी बजारका नीतिहरूमा सकारात्मक सम्बोधन गर्ने अपेक्षामा लगानीकर्ताहरू रहेका कारण बजारमा उत्साह थपिएको विश्लेषण गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




