सहकारी क्षेत्रमा एक करोड बढी सदस्य, समस्याग्रस्त संस्थाको बचत फिर्ता सुस्त

-



     सफल आवाज    
     जेठ १४ गते २०८३ मा प्रकाशित



काठमाडौं, १४ जेठ। नेपालको सहकारी क्षेत्रमा आबद्ध शेयर सदस्यहरूको संख्या एक करोड नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार गत फागुनसम्ममा देशभरका सहकारीहरूमा कुल सदस्य संख्या एक करोड एक लाख ६० हजार पुगेको हो ।

आर्थिक सर्वेक्षणको तथ्यांक अनुसार हाल देशभर ३२ हजार ३ सय २५ वटा सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन् ।

सहकारी क्षेत्रको वित्तीय अवस्था:

सूचकविवरण
कुल सहकारी संख्या३२,३२५
कुल सदस्य संख्या१ करोड १ लाख ६० हजार
कुल शेयर पुँजीरु. १ खर्ब ४३ अर्ब २९ करोड
बचत परिचालनरु. १० खर्ब २९ अर्ब ५७ करोड
कर्जा प्रवाहरु. ९ खर्ब ५ अर्ब ४८ करोड
प्रत्यक्ष रोजगारी८२,२१६ जना

सर्वेक्षणका अनुसार राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ८३४ सहकारीलाई सञ्चालन इजाजत प्रदान गरेको छ भने सहकारी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा १९ हजार ९ सय तीन संस्थाहरू आबद्ध भएका छन् । सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका लागि ‘नयाँ मापदण्ड २०८२’ समेत जारी गरिसकेको छ ।

बचत फिर्ताको अवस्था निकै सुस्त:

सहकारी क्षेत्रको दायरा फराकिलो बन्दै गए पनि यस क्षेत्रमा समस्या र चुनौतीहरू उत्तिकै देखिएका छन् । सरकारले समस्याग्रस्त घोषणा गरेका २३ वटा सहकारीमध्ये हालसम्म जम्मा ३ वटा सहकारीको मात्र राफसाफ भएको छ । बाँकी २० वटा समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको प्रक्रिया अझै बाँकी नै छ ।

तथ्यांक अनुसार समस्याग्रस्त सहकारीहरूमा कुल ८० हजार ८७ जना दाबीकर्ताले ४७ अर्ब ६० करोड १३ लाख रुपैयाँ माग दाबी गरेका छन् । तर, हालसम्म जम्मा ३ हजार ६ सय ८८ जना दाबीकर्ताले २ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ मात्र फिर्ता पाएका छन्, जसले बचत फिर्ताको प्रक्रिया निकै सुस्त रहेको देखाउँछ ।