नयाँ सहकारी दर्ता र शाखा विस्तारमा रोक लगाउन आयोगको सिफारिस

-



     सफल आवाज    
     जेठ १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ जेठ। सहकारी क्षेत्रको बेथिति जाँचबुझ आयोगले देशमा सहकारी नियमनका लागि स्पष्ट संस्थागत संरचना नबन्दासम्म नयाँ सहकारी दर्ता र शाखा विस्तारमा पूर्ण रोक लगाउन सिफारिस गरेको छ ।

आयोगले सरकारलाई प्रतिवेदन बुझाउँदै तीनै तहका सरकारले हालका सहकारीहरूको अवस्था व्यवस्थित नभएसम्म नयाँ दर्ता, शाखा वा सेवा केन्द्र सञ्चालनको अनुमति दिन नहुने सुझाव दिएको हो ।

आयोगको प्रतिवेदनमा हाल एकभन्दा बढी शाखा सञ्चालन गरिरहेका सहकारीहरूलाई आफ्नो हिसाब–किताब राफसाफ (क्लियरेन्स) गरी शाखाहरू बन्द गराउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

विद्यमान समस्याहरूको स्थायी समाधान भएपछि मात्र सम्भाव्यता अध्ययनका आधारमा ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ को सिफारिसमा स्थानीय तहलाई पुनः दर्ताको अधिकार दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्षेत्र विस्तारमा गम्भीर प्रश्न

आयोगले सहकारी दर्ताकै चरणमा कार्यक्षेत्र देशभर विस्तार गर्न दिने कानुनी तथा व्यावहारिक व्यवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएको छ । सहकारी संस्थाहरू स्वावलम्बन र पारस्परिक सहयोगको जगमा चल्नुपर्नेमा सुरुवाती चरणमै देशव्यापी बनाइनु गलत भएको प्रतिवेदनको निष्कर्ष छ ।

“सहकारी संस्था स्वावलम्बन र पारस्परिक सहयोग जस्ता भावना अनुसार सञ्चालन हुने व्यवसाय भएकाले संस्था स्थापना दर्ता हुँदा यसको कार्यक्षेत्र बढीमा एक गाउँपालिका वा नगरपालिका वा महानगरपालिकाको केही वडाहरूमा मात्र हुनुपर्दथ्यो,” प्रतिवेदनमा भनिएको छ, “दर्ता हुँदाको बखतै वा दर्ता भएको केही समयमानै संस्थाको कार्यक्षेत्र नेपालभर विस्तार गर्नु र सेवा केन्द्र मार्फत बढीभन्दा बढी निक्षेप संकलन गर्न दिनु उचित थिएन ।”

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका वित्तीय संकट र सर्वसाधारणको बचत अपचलन हुनुमा फितलो नियमन र असीमित कार्यक्षेत्र मुख्य जिम्मेवार रहेको भन्दै आयोगले नियमनकारी ढाँचा बलियो नभएसम्म थप अनुमति रोक्न कठोर कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।