रेमिट्यान्सको चमकभित्र लुकेको पीडा: अर्थतन्त्र बलियो, तर मानवीय मूल्य कति ?

-



     सफल आवाज    
     जेठ १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ जेठ। नेपाल सरकार अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको पछिल्लो ‘आर्थिक सर्वेक्षण २०८२/८३’ को तथ्यांकले देशको बाह्य आर्थिक क्षेत्र सुदृढ रहेको देखाएको छ ।

विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थिति इतिहासकै बलियो अवस्थामा पुग्नुको मुख्य जग वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) नै बनेको छ ।

तर, यो उज्यालो र सकारात्मक आर्थिक सूचकको अर्को पाटो भने मानवीय संवेदना, पीडा र गम्भीर सामाजिक असुरक्षाले भरिएको छ। खाडी र मलेसियाको उकुसमुकुस गर्मीमा नेपाली श्रमिकले बगाएको रगत–पसिना र गुमेको ज्यानको जगमा नेपालको अर्थतन्त्र टिकेको सर्वेक्षणले पुष्टि गर्छ ।

रेमिट्यान्सको टेकोमा नेपालको अर्थतन्त्र

निर्यात अत्यन्त कमजोर रहेको अवस्थामा केवल श्रमिकहरूले पठाएको पैसाकै कारण बैंकहरूमा विदेशी मुद्राको सञ्चिति बलियो छ। सर्वेक्षणका अनुसार २०८२ फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपालीहरूको कुल संख्या ६९ लाख २३ हजार ४ सय ४३ पुगिसकेको छ । यस श्रम शक्तिमा महिलाको हिस्सा ७.१ प्रतिशत र पुरुषको हिस्सा ९२.९ प्रतिशत रहेको छ ।

विगत केही वर्षको रेमिट्यान्स आप्रवाहको अवस्था:

आर्थिक वर्षभित्रिएको रेमिट्यान्स (रु.)
२०७९/८०१२ खर्ब २० अर्ब
२०८०/८११४ खर्ब ४५ अर्ब
२०८१/८२१७ खर्ब २३ अर्ब
चालु आव (चैतसम्म)१६ खर्ब ५९ अर्ब

तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको वृद्धिसँगै नेपालको रेमिट्यान्स आप्रवाह हरेक वर्ष बढ्दो गतिमा अगाडि बढेको देखाउँछ ।

रेमिट्यान्सको बदलामा अकालमा ज्यान गुमाउँदै कामदार

आर्थिक सर्वेक्षणको ‘वैदेशिक रोजगारीको क्रममा मृत्यु हुनेको संख्या’ सम्बन्धी विवरणले देशको डरलाग्दो यथार्थलाई उजागर गरेको छ । सर्वेक्षण अनुसार आव २०७२/७३ मा ८१६ जनाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएकोमा आव २०७७/७८ मा यो संख्या बढेर १२ सय ४२ पुगेको थियो ।

त्यसपछिका वर्षहरूमा हरेक वर्ष १ हजारभन्दा बढी कामदारले ज्यान गुमाएका छन् । अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी आव २०८१/८२ मा १५ सय ८३ जना नेपाली कामदारको वैदेशिक रोजगारीमा मृत्यु भएको छ । मरुभूमिको प्रतिकूल मौसम, कार्यस्थलको असुरक्षा, सडक दुर्घटना र अत्यधिक मानसिक तनावका कारण दैनिक ३ देखि ४ जना नेपाली श्रमिकहरूले बाकसमा फर्किनु परेको छ । कमाउने र परिवारको भविष्य बदल्ने सपना बोकेर उडेका युवाहरू शव बनेर फर्किनु पर्ने यो क्रूर यथार्थले नेपालको परनिर्भर अर्थतन्त्र कति सस्तो र संवेदनशील मानवीय मूल्यमा अडिएको छ भन्ने प्रष्ट पार्छ ।

सामाजिक सुरक्षाको अवस्थाः घोषणा धेरै, पहुँच थोरै

सरकारले वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने नीति लिएपछि योगदानकर्ताहरूको संख्या क्रमिक रूपमा बढेको त देखिन्छ ।

  • २०८१ फागुन: २० लाख ७९ हजार जना
  • २०८२ असार: २३ लाख ७९ हजार जना
  • चालु आवको फागुन: २८ लाख ५१ हजार जना

कोषमा आबद्ध हुनेको संख्या बढे पनि समग्र वैदेशिक रोजगारीमा गएका लाखौँ श्रमिकहरूको अनुपातमा यो संख्या अझै पनि निकै न्यून छ । सूचनाको अभाव, झन्झटिलो कानुनी प्रक्रिया र अनौपचारिक माध्यमबाट श्रम बजारमा जाने प्रवृत्तिका कारण ठुलो संख्याका श्रमिकहरू अझै पनि सामाजिक सुरक्षाको ओतभन्दा बाहिरै छन् ।

निष्कर्ष: बालुवाको जगमा उभिएको महल

आर्थिक सर्वेक्षण २०८२/८३ को विवरणले विप्रेषण बढेकोमा राज्यलाई गर्व गर्ने ठाउँ त दिएको छ, तर यसले देशमै रोजगारी सिर्जना गर्न नसक्दाको लाचारीलाई पनि उत्तिकै उजागर गर्छ । युवाहरूलाई खाडीको मरुभूमिमा मृत्युसँग साटिन बाध्य पारेर प्राप्त भएको विदेशी मुद्राले देश तत्कालका लागि टाट पल्टिनबाट जोगिएला, तर यसले दीर्घकालीन समृद्धि आउदैन ।