
काठमाडौं, १७ जेठ। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा सांसदहरूले जनसरोकारका विविध मुद्दाहरूलाई लिएर सरकारको कडा आलोचना गरेका छन्।
बैठकको शुन्य समयमा बोल्दै सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट, मुलुकका विभिन्न भागमा देखिएको विद्युत आपूर्तिको अवरोध, सुशासन र देशमा व्याप्त जातीय विभेदका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। सांसदहरूले विकास निर्माणदेखि जनजीविकाका सवालमा सरकार उदासीन र प्रभावहीन रहेको आरोप समेत लगाए।
बजेट मौखिक प्रतिबद्धतामा मात्र सीमित: गोमादेवी तिमिल्सेना
बैठकमा बोल्दै सांसद गोमादेवी तिमिल्सेनाले आगामी आर्थिक वर्षको बजेटले उद्योग सञ्चालनका लागि ठोस कार्यक्रम र बजेट विनियोजन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। “उद्योग सञ्चालनका लागि केवल मौखिक प्रतिबद्धताले मात्र पुग्दैन, पर्याप्त बजेट र स्पष्ट कार्ययोजना आवश्यक हुन्छ,” उनले भनिन्। उनले सुकुम्बासी, गरिब किसान र मजदुरका समस्या समाधानका लागि सरकारको स्पष्ट धारणा समेत माग गरेकी छन्।
कर्णालीमा विद्युत संकट: दुर्गा गुरुङ र नरबहादुर विष्ट
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्याप्त विद्युतीय समस्याबारे बोल्दै सांसद दुर्गा गुरुङले न्यून भोल्टेज र अनियमित विद्युत आपूर्तिका कारण नागरिकले सास्ती खेप्नुपरेको बताइन्। विशेषगरी रातिको समयमा हुने लोडसेडिङले विद्यार्थी र व्यवसायीलाई प्रत्यक्ष असर पारेको भन्दै उनले तत्काल सुधारको माग गरिन्।
त्यस्तै, सांसद नरबहादुर विष्टले कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन हावाहुरीका कारण अवरुद्ध भएको र आरक्ष क्षेत्रमा पर्ने भएकाले मर्मत कार्यमा बाधा पुगेको जानकारी गराए। उनले सुर्खेतको प्राकृतिक ग्याँस उत्खननको विषयमा पनि कुरा उठाएका थिए। सांसद विष्टले संसदमा उठाइएका प्रश्नहरूको जवाफ नदिने मन्त्रीहरूको कार्यशैलीप्रति समेत कडा आपत्ति जनाए।
दलित समुदायमाथि न्याय भएन: भुवनबहादुर सुनार
सांसद भुवनबहादुर सुनारले मुलुकमा जातीय छुवाछुत र भेदभावका घटना अझै कायमै रहेकोमा गम्भीर चिन्ता व्यक्त गरे। दीपा नेपालीको आन्दोलन र माइतीघर मण्डलामा भइरहेको विद्रोहको प्रसंग जोड्दै उनले सरकारले दलित समुदायलाई न्याय दिन नसकेको आरोप लगाए। आगामी बजेटमा पनि विभेद अन्त्य गर्ने कुनै ठोस कार्यक्रम नभएको भन्दै उनले पीडितहरूका लागि शीघ्र न्यायको माग गरे।
सुशासनका नाममा ‘आतंक’ सिर्जना गर्न खोजियो: युवराज शर्मा
सांसद युवराज शर्माले मुलुकमा बढ्दो महँगी र लोकतान्त्रिक मूल्यमान्यतामाथि भइरहेको प्रहारबारे सदनलाई अवगत गराए। संविधान संशोधनका नाममा भइरहेका केही गतिविधिप्रति संशय व्यक्त गर्दै उनले सुशासन र सम्पत्ति शुद्धीकरणका नाममा ‘आतंक’ सिर्जना गर्न खोजिएको टिप्पणी गरे। साथै, जेनजी (GenZ) आन्दोलनका सम्बन्धमा मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनमा उच्च पदस्थहरूलाई जोगाउन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
मन्त्रीहरू जवाफदेही बन्नुपर्ने माग
बैठकको अन्त्यमा सांसदहरूले जननिर्वाचित प्रतिनिधिहरूले संसदमा उठाएका प्रश्नहरूको गैरजिम्मेवार ढंगले उपेक्षा नगर्न सरकारलाई चेतावनी दिए। उनीहरूले जनताका जल्दाबल्दा समस्या समाधानमा सक्रिय हुन सरकार र सदनका अध्यक्षसँग विशेष आग्रह समेत गरेका छन्।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




