बजेटका केही व्यवस्थामा पुनर्विचार गर्नुपर्छ-एमाले पोखरा-२१ का अध्यक्ष थापा

-



     सफल आवाज    
     जेठ १७ गते २०८३ मा प्रकाशित



पाेखरा, १७ जेठ । नेकपा एमाले पोखरा–२१ का वडा कमिटी अध्यक्ष राजेन्द्र थापाले सरकारले सार्वजनिक गरेको बजेटका केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै नागरिकको क्षमता, पहुँच र दैनिक जीवनमा पर्ने प्रभावलाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क, निजी अस्पतालमा उपचार गर्दा ३ प्रतिशत स्वास्थ्य समता शुल्क, मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट तथा निजी अस्पतालमा स्वास्थ्य बिमाको सुविधा नहुने व्यवस्थाले मध्यम वर्ग र विपन्न नागरिकमाथि थप आर्थिक भार पर्न सक्ने बताएका छन्।

उनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत तथा संवेदनशील क्षेत्रमा थप आर्थिक दायित्व सिर्जना गर्ने निर्णयहरू कार्यान्वयन गर्दा नागरिकको वास्तविक अवस्था र भुक्तानी क्षमतालाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। थापाले उपचारपछि निको भएर घर फर्किने बिरामीले भविष्यप्रति आशा राख्न सक्ने भए पनि उपचारकै क्रममा जीवन गुमाउने परिवारका लागि उपचार खर्चमा थपिएको कर भावनात्मक रूपमा समेत पीडादायी बन्न सक्ने उल्लेख गरेका छन्।

दुःखको घडीमा राज्यले नागरिकलाई राहत, सहानुभूति र भरोसाको अनुभूति दिलाउने नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ। उनले सरकारी अस्पताल र विद्यालयहरूले अझै सबै नागरिकको आवश्यकता पूर्ण रूपमा सम्बोधन गर्न सक्ने अवस्था नआइसकेको भन्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा निजी संस्थाको सेवामा निर्भर हुनुपर्ने बाध्यता यथावत रहेको बताएका छन्। यस्तो अवस्थामा निजी सेवामा थप आर्थिक भार थपिनुले आम नागरिकलाई प्रत्यक्ष असर पार्न सक्ने उनको धारणा छ।

त्यसैगरी, सरकारी कार्यालय पाँच दिन सञ्चालन गर्ने व्यवस्था उपयुक्त हुन सक्ने भए पनि अस्पताल र विद्यालयजस्ता संवेदनशील तथा अत्यावश्यक क्षेत्रहरू प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिएका छन्। “बिरामीको पीडा र विद्यार्थीको भविष्य बिदाको तालिकाअनुसार चल्दैन,” भन्दै उनले सेवा प्रवाहलाई अझ नागरिकमैत्री बनाउन आवश्यक रहेको बताएका छन्। थापाले आफूले उठाएका विषयहरू कुनै राजनीतिक विरोधका लागि नभई आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका सरोकार भएको स्पष्ट पारेका छन्।

नीति निर्माणका क्रममा राजस्व सङ्कलनसँगै जनताको आर्थिक अवस्था, पहुँच, आवश्यकता र जीवनस्तरलाई पनि समान महत्व दिनुपर्ने उनको भनाइ छ। नागरिकका चासो, सुझाव र अनुभूतिलाई राज्यले सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक पुनर्विचार गर्नुपर्नेमा जोड दिँदै थापाले जनताको जीवनमा प्रत्यक्ष असर पर्ने विषयमा निर्णय गर्दा राजस्वभन्दा जनजीविकालाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। साथै, जनताको आवाज सुन्ने, जनभावनालाई सम्मान गर्ने र नागरिकको हितलाई प्राथमिकतामा राख्ने शासन प्रणाली नै सशक्त लोकतन्त्रको आधार हुने बताएका छन्।