पेट्रोलियम पदार्थको भाउ यथावत, निगमलाई मासिक ६२ करोड बढी घाटा

-



     सफल आवाज    
     जेठ १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाल कायम रहेको दरमै यथावत राख्ने निर्णय गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भए तापनि उपभोक्ता हितलाई ध्यानमा राख्दै निगमले मूल्य नबढाउने निर्णय गरेको हो।

भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्न कठिन परिस्थिति सिर्जना भए तापनि उपभोक्तामाथि थप आर्थिक भार नपार्ने उद्देश्यले हालकै मूल्यलाई निरन्तरता दिइएको निगमले जनाएको छ।

जुन १ (जेठ १८) देखि नयाँ मूल्यदर लागू

निगम सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकको निर्णयअनुसार आगामी जुन १, २०२६ (जेठ १८ गते बिहान १२ः०१ बजे) देखि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा कुनै परिवर्तन गरिएको छैन।

हाल काठमाडौँ उपत्यकामा कायम रहेको प्रमुख पेट्रोलियम पदार्थको मूल्य तालिका यसप्रकार छ:

पेट्रोलियम पदार्थकायम मूल्य (रु.)प्रति एकाइ
पेट्रोलरु २१७प्रतिलिटर
डिजेल / मट्टितेलरु २२५प्रतिलिटर
एलपी ग्यासरु २,१६०प्रति सिलिन्डर (१४.२ केजी)

निगमलाई मासिक करोडौँ घाटा

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको अवस्थामा पनि नेपालमा भाउ यथावत राख्दा निगमले ठुलो आर्थिक नोक्सानी ब्यहोर्नुपरेको छ। निगमका अनुसार हालकै मूल्य कायम राख्दा पनि संस्थालाई मासिक रूपमा करिब रु ६२ करोड ८६ लाख घाटा भइरहेको छ।

निगमले अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आफ्नो वित्तीय स्थितिको मूल्याङ्कन गर्दै आगामी दिनमा मूल्य समायोजनबारे आवश्यक निर्णय लिइने समेत प्रस्ट पारेको छ।