नेप्से २६ अङ्कले ओरालो लाग्याे, ५ अर्ब ६१ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ जेठ । बजेट सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा तीव्र गिरावट आएको छ ।

बजेट पश्चात् बजार चलायमान बन्ने र सकारात्मक सन्देश प्रवाह हुने आम लगानीकर्ताको अपेक्षा विपरीत आज आइतबार नेप्से परिसूचक २६ दशमलव ७२ अङ्कले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक शून्य दशमलव ९६ प्रतिशतले ओरालो लाग्दै दुई हजार ७५५ दशमलव ३७ को विन्दुमा कायम भएको छ ।

यस्तै, ठूला र बलिया कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि चार दशमलव ७८ अङ्कले घटेर ४७० दशमलव ७२ मा सीमित भएको छ ।

कारोबार रकम रु ५ अर्ब ६१ करोड माथि

बजार ओरालो लागे पनि कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ । आज बजारमा कुल ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर कुल रु ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मूल्यमा किनबेच भएको छ ।

शीर्ष कारोबार हुने कम्पनीहरू:

  • आँखु खोला जलविद्युत् कम्पनी (शीर्ष स्थान)
  • नेपाल पुुनरबीमा कम्पनी
  • हिमालयन रिइन्स्योरेन्स
  • रिडी पावर कम्पनी
  • नेशनल हाइड्रोपावर कम्पनी

कमाउने र गुमाउने कम्पनीहरू

आजको घट्दो बजारमा पनि सीमित कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । नेप्सेका अनुसार नेपाल पुनरबीमा कम्पनी, कालिञ्चोक हाइड्रोपावर, सिटिजन बैंकको डिवेञ्चर, सेन्ट्रल फाइनान्स र सिभिल बैंकको डिवेञ्चरका लगानीकर्ता आजका प्रमुख कमाउनेमा परेका छन् ।

उता, सर्वाधिक गुमाउने कम्पनीहरूमा बुङ्गल हाइड्रोपावर, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, एनआइबिएल समृद्धि फण्ड दोस्रो र नेपाल रिपब्लिक मिडिया रहेका छन् । यिनका लगानीकर्ताले आज बजारबाट उच्च नोक्सानी ब्यहोरेका छन् ।

११ उपसमूहमा रातो पोतियो

बजारमा आज कुल १३ उपसमूहमध्ये २ उपसमूहको शेयर मूल्य मात्र वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको शेयर मूल्य घटेर बजार राताम्मे देखिएको छ । बजेट वक्तव्यले पूँजी बजारका नीतिगत व्यवस्थाहरूमा लगानीकर्तालाई पूर्ण रूपमा उत्साहित गर्न नसक्दा बजारमा यो मनोबैज्ञानिक असर देखिएको विश्लेषण गरिएको छ ।