
काठमाडौं, २० जेठ। नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले आफ्नो विभिन्न कोषहरूमा रहेको कुल ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ (९६,९८५ लाख रुपैयाँ) बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्दैछ ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ३६६ दिनको मुद्दती निक्षेपका रूपमा लगानी लिन प्रस्ताव आह्वान गरेको हो।
यो लगानी आगामी जुन १८, २०२६ देखि जुन २०, २०२७ सम्मका लागि हुने सूचनामा उल्लेख छ ।
वर्गअनुसार लगानीको सीमा
राष्ट्र बैंकले उपलब्ध रकमलाई वित्तीय संस्थाहरूको वर्गअनुसार यसरी विभाजन गरेको छ ।
- “क” वर्गका वाणिज्य बैंकका लागि: ७७,५८९ लाख रुपैयाँ (७ अर्ब ७५ करोड ८९ लाख)
- “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागि: १४,५४७ लाख रुपैयाँ (१ अर्ब ४५ करोड ४७ लाख)
- “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि: ४,८४९ लाख रुपैयाँ (४८ करोड ४९ लाख)
आवेदन दिने प्रक्रिया र अन्तिम मिति: इच्छुक संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर फारममा भरी, त्यसलाई PDF Format मा स्केन गरी Password Protected गरेर २०८३ जेठ २० गते राति १२:०० बजेभित्र राष्ट्र बैंकको इमेल
fmdinvestment@nrb.org.npमा पठाइसक्नु पर्नेछ। उक्त फाइलको पासवर्ड भने २०८३ जेठ २१ गते राति १२:०० बजेभित्र सोही इमेलमा उपलब्ध गराउनु पर्नेछ ।
निक्षेप पाउन पालना गर्नुपर्ने मुख्य सर्तहरू
राष्ट्र बैंकको यो रकम प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाहरूले देहायका सर्तहरू पूरा गरेको हुनुपर्नेछ ।
- सञ्चालन अवधि र नाफा: संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामै रहेको हुनुपर्ने ।
- वित्तीय सूचकहरू: न्यूनतम कुल पुँजीकोष अनुपात (Buffer सहित) कायम गरेको हुनुपर्ने तथा खुद तरल सम्पत्ति अनुपात र कर्जा निक्षेप अनुपात (CD Ratio) बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने (फाइल।
- निष्क्रिय कर्जा (NPL): निष्क्रिय कर्जा अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी हुन नहुने।
- कारबाहीको अवस्था: शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने । साथै राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको वा भएको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने।
- सेयर निष्कासन: सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने।
अन्य प्राविधिक नियमहरू
- इमेलको ढाँचा: इमेलमार्फत प्रस्ताव पेस गर्दा Subject तथा Filename मा
"FMD Fund FD Proposal_Bank Code"उल्लेख गर्नुपर्नेछ। पासवर्ड पठाउँदा Subject मा"FMD Fund FD Proposal Password_Bank Code"लेख्नुपर्नेछ । यहाँ ‘Bank Code’ भन्नाले नेप्से (NEPSE) मा सूचिकृत हुँदाको Stock Symbol लाई बुझाउनेछ। - आधिकारिक इमेल मात्र मान्य: संस्थाको आधिकारिक इमेल (जस्तै: @bankname.com) बाट आएको प्रस्तावलाई मात्र मान्यता दिइनेछ। Gmail, Hotmail, Yahoo आदि व्यक्तिगत वा सार्वजनिक डोमेनबाट आएका इमेलहरू मान्य हुने छैनन्।
- एक मात्र प्रस्ताव: रकम र ब्याजदर फरक पर्ने गरी एउटै संस्थाबाट एकभन्दा बढी प्रस्ताव आएमा सबै प्रस्ताव रद्द गरिनेछ। तर एउटै प्रस्ताव एकपटक भन्दा बढी प्राप्त भएमा भने पछिल्लो प्रस्तावलाई मान्यता दिइनेछ।
- सार्वजनिक बिदा परेमा: प्रस्ताव पठाउने वा पासवर्ड पठाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा, सो बिदा पछिको पहिलो कार्यालय दिनलाई नै अन्तिम मिति मानिनेछ।
प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अख्तियारी केन्द्रीय बैंकमै निहित रहने सूचनामा स्पष्ट पारिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




