राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन गर्दै, आजै बोलकबोल

-



     सफल आवाज    
     जेठ २० गते २०८३ मा प्रकाशित



काठमाडौं, २० जेठ। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता (निक्षेप) संकलन गर्ने भएको छ। बैंकले ५६ दिनको अवधिका लागि उक्त परिमाणको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो।

राष्ट्र बैंकले आजै अर्थात् २०८३ जेठ २० गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत यसको बोलकबोल खुला गरेको छ।

बोलकबोलका मुख्य विशेषता एवं सर्तहरू:

  • आह्वान रकम: रु. ३० अर्ब (तीस अर्ब रुपैयाँ मात्र) ।
  • बोलकबोल र निष्काशन मिति: २०८३ जेठ २० गते।
  • साँवा तथा ब्याज भुक्तानी मिति: २०८३ साउन १३ गते।
  • ब्याजदर निर्धारण: बोलकबोलको माध्यमबाट (बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने)।
  • सहभागी हुन पाउने संस्थाहरू: नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र।
  • बोल गर्न सकिने रकम: घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (३० अर्ब) सम्म।

बाँडफाँड र अन्य व्यवस्था

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर माग गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखिनेछ। यदि समान ब्याजदर भएका बोलपत्रहरू परे र रकम कुल निष्काशन भन्दा बढी हुन गएमा प्रो-राटा बेसिस (Pro-rata Basis) मा बाँडफाँड गरिने सूचनामा उल्लेख छ।

स्वीकृत बोलपत्रबापतको रकम राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खाताबाट खर्च गरी लिनेछ। निष्काशनका दिन खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन बन्देज लगाइने कडा व्यवस्था गरिएको छ।

निक्षेप संकलनको उपयोगिता

यो निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ। संकलित निक्षेप रकम सम्बन्धित बैंकको लगानी पोर्टफोलियो (Portfolio) हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन। तर, यस रकमलाई संविधिक तरल अनुपात (SLR) र तरलता अनुपात (Liquidity Ratio) मा भने गणना गर्न पाइने सुविधा दिइएको छ।

यो निक्षेप रकम भुक्तानी मिति (साउन १३ गते) अगावै प्री-मैच्योर (Pre-mature) भुक्तानी वा फिर्ता नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।