युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर लिलाम बिक्रीमा

-



     सफल आवाज    
     जेठ २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ जेठ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (United Ajod Insurance Limited) ले अवितरित हकप्रद शेयर जेठ २९ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १०० बराबर १० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमध्ये आवेदन नपरेका शेयरहरू लिलाममार्फत बिक्री गर्न लागेको हो। लिलाममा संस्थापक समूहअन्तर्गत ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहअन्तर्गत ६ हजार ६३३ कित्ता गरी कुल ७० हजार ४८० कित्ता शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ।

उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असार ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। लिलाममा बिक्री हुने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको छ।

बोलपत्र आवेदन गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता तथा सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता शेयर माग गर्नुपर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी Laxmi Sunrise Capital Limited ले सम्हालेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयका साथै लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढीस्थित शाखा कार्यालयबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन्।

कम्पनीले हकप्रद निष्काशनपछि बाँकी रहेका शेयरहरू लिलाम प्रक्रियामार्फत बिक्री गरी पूँजी संरचना सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ।