सिरिजङ्घा गाउँपालिकाले खानेपानी उद्योग स्थापना गर्ने

-



     सफल आवाज    
     माघ १९ गते २०७७ मा प्रकाशित



ताप्लेजुङ, १९ माघ । स्वच्छ खानेपानीको निर्यात गरी आय वृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले खानेपानी उद्योग स्थापना गर्ने भएको छ । ‘कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी’ भन्ने नारासहित सो उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

सो कार्यका लागि तीन सदस्यीय विषय विज्ञ सम्मिलित समिति गठन गरेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । डाक्टर विनोद लेखकको संयोजकत्वमा गठित समितिले आगामी फागुन १७ गतेभित्र नै प्रारम्भिक योजना दिने र सोहीअनुरुप अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । उनका अनुसार कञ्चनजङ्घा हिमाल क्षेत्रबाट बहने पानीलाई सदुपयोग गरिने छ ।

यो कार्यक्रमले कञ्चनजङ्घा हिमाल उद्गमस्थल भएर बग्ने काबेली खोलाको मुहानलगायत स्थानीय पानीका स्रोतको संरक्षण, सदुपयोग र आम्दानीसमेत बढ्ने गाउँपालिकाको विश्वास छ । “गाउँपालिकाभित्र पर्ने कञ्चनजङ्घा हिमाल, उक्त हिमाललाई उद्गमस्थल बनाएर बग्ने पानीलगायत यहाँका प्राकृतिक सम्पत्तिको संरक्षण र सदुपयोगका लागि हामीले विभिन्न नारासहित योजना तथा कार्यक्रम बनाएका छाैं।

तीमध्ये स्वच्छ खानेपानीको उद्योग स्थापना गर्ने योजना रोजगारी सिर्जना र आन्तरिक आम्दानीका हिसाबले महत्वपूर्ण भएकाले यसमा हामी लागि परेका छौँ”, गाउँपालिकाका अध्यक्ष गुरुङले भने । उत्पादित पानीलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्ने गुणस्तरको बनाउने गाउँपालिकाको सोच छ ।