इप्पानको २४औँ एजिएम जेठ २९ गते, भ्रमपूर्ण प्रचारको खण्डन

-



     सफल आवाज    
     जेठ २५ गते २०८३ मा प्रकाशित



काठमाडौं, २५ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी २०८३ साल जेठ २९ गते आयोजना हुने भएको छ। हाल ७०० भन्दा बढी कम्पनी सदस्यहरू आबद्ध रहेको इप्पानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार, संस्थाको विधान संशोधन र साधारणसभाको तयारीलाई लिएर बजारमा फैलाइएका केही भ्रमपूर्ण प्रचारहरूको संस्थाले जोडदार खण्डन गरेको छ।

विधान संशोधन र साधारणसभाको पृष्ठभूमि

विज्ञप्तिमा जनाइए अनुसार, २०८० जेठ ३२ गते सम्पन्न २१औँ साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो। उक्त समितिले इप्पानलाई महासंघको रूपमा रूपान्तरण गर्ने मस्यौदा पेस गरेको र २०८२ असार ३१ गते सम्पन्न २३औँ साधारणसभाले सोको कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी दिएको थियो।

तर, तत्काल संस्थालाई महासंघ बनाउन नसकिने परिस्थिति सिर्जना भएपछि २०८३ वैशाख ४ गते सम्पन्न २००औँ कार्यसमिति बैठकले ‘इप्पान विधान २०७८’ अनुसार नै २४औँ साधारणसभा र आठौँ अधिवेशन गर्ने निर्णय गरेको थियो।

नयाँ निर्वाचनका मुख्य व्यवस्थाहरू

आगामी जेठ २९ गते हुने अधिवेशनका लागि जेठ २५ गते सम्पन्न २०३औँ बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ:

  • वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाको अन्त्य: संशोधित विधान अनुसार अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने छैनन्।
  • खुला प्रतिस्पर्धा: विधानको व्यवस्था बमोजिम योग्यता पुगेका जुनसुकै व्यक्ति पनि अध्यक्ष लगायत सबै पदका लागि खुला रूपमा उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ।

‘विधान गायब पारिएको’ आरोपको खण्डन

इप्पानले संस्थाकै उपमहासचिव प्रकाशचन्द्र दुलालले लगाएको आरोपप्रति गम्भीर आपत्ति जनाएको छ। पोखरेल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको अवस्थामा उपमहासचिव दुलालले “विधान गायब पारिएको र विधान विपरीत साधारणसभा आयोजना गर्न लागिएको” भनी सार्वजनिक रूपमा ‘अर्गल र कपोलकल्पित’ प्रचार गरेको भन्दै संस्थाले सो कार्यको घोर भर्त्सर्ना गरेको छ।

“ऊर्जा व्यवसायीहरूको साझा संस्था इप्पानको परिपालनामा गम्भीर आँच आउने गरी गरिएका यस्ता आरोपहरूको हामी जोडदार खण्डन गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

भव्य रूपमा साधारणसभा सफल पार्न आह्वान

कार्यसमितिको वैधानिक निर्णय बमोजिम नै आगामी जेठ २९ गते साधारणसभा र अधिवेशन हुन लागेको र यसका लागि जेठ ९ र १० गते नै सार्वजनिक रूपमा सूचना प्रकाशित भइसकेको इप्पानले स्पष्ट पारेको छ। संस्थाले यस्ता भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह गर्दै सम्पूर्ण सदस्यहरूलाई साधारणसभा र अधिवेशन भव्य रूपमा सफल पार्न सक्रियताका साथ सहभागी हुन हार्दिक अनुरोध समेत गरेको छ।