
काठमाडौं, २७ जेठ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज (बुधबार) सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेर बन्द भएको छ।
नेप्से सँगै आज फ्लोट इण्डेक्स पनि ०.१२ अंकले बढेको छ। यद्यपि, ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेको छ।

नेप्से परिसूचकमा सुधार देखिए पनि आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। गत मंगलबार बजारमा ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज त्यो रकम घटेर ४ अर्ब २९ करोडमा सीमित भएको छ।
आज ३५६ वटा कम्पनीको ४९ हजार २४८ पटकको कारोबारमा ९२ लाख ८३ हजार कित्ता शेयर कुल ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।
सर्किट लाग्ने र धेरै कमाउने कम्पनीहरू
आजको कारोबारमा तीनवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि करिब ११ प्रतिशतले वृद्धि भएको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ।
यता गुमाउने कम्पनीहरूमा १०.२५ प्रतिशत ब्याजदर भएको ‘प्रभु बैंक डिबेञ्चर २०८६’ अग्रस्थानमा रह्यो, जसको मूल्य सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ।
आँखु खोलाको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको आज २० करोड ४१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको पनि २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने सिटि होटलको करिब साढे १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
उपसमूहगत अवस्था
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। हरियाली छाएका उपसमूहहरूमा बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड रहेका छन्, जसको परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। यता घट्ने ६ वटा उपसमूहहरूको गिरावट दर भने न्यून अर्थात् ०.५० प्रतिशतभन्दा कम मात्र रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




