
काठमाडौं, १ असार। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि महत्वाकांक्षी कार्ययोजना र मार्गचित्र सार्वजनिक गरेका छन्।
नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रको विकास, लगानीको सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गरेका हुन्।
अध्यक्ष डाँगीले यस कार्यकालका लागि ‘हाम्रो ऊर्जा, हाम्रो भविष्यः लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारा तय गरिएको जानकारी दिए। उनले समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिवद्धतासहित ‘इप्पान भिजन २०२९’ मा उल्लेखित कार्यक्रमहरूलाई अक्षरशः कार्यान्वयन गर्ने बताए।
विज्ञ समिति र नीतिगत सुधारको योजना
सामूहिक नेतृत्वको अवधारणालाई आत्मसात् गर्दै इप्पानले सातवटा विशेष समिति र आवश्यकताअनुसार उप–समितिहरू गठन गर्ने भएको छ। ती समितिहरूलाई पूर्ण अधिकार प्रत्यायोजन गरी सक्रिय बनाइनेछ।
यसका साथै नीतिगत सुधारका लागि निम्न संरचनाहरू तयार गरिनेछन्:
- सल्लाहकार समिति: निवर्तमान अध्यक्षको संयोजकत्वमा बढीमा ११ सदस्यीय सल्लाहकार समिति गठन हुनेछ।
- उच्च स्तरीय विज्ञ सल्लाहकार समिति: ऊर्जा क्षेत्रका विज्ञहरू सम्मिलित ७ देखि ९ सदस्यीय समिति बन्नेछ।
- अनुसन्धान र विकास (R&D): सरकारका पूर्वसचिवको संयोजकत्वमा गठन हुने विज्ञ समितिले ‘रिसर्च एण्ड डेभलपमेन्ट’ मा काम गर्नेछ। यसले विद्युत विधेयक र वन विधेयक लगायतका बाधक कानूनहरूको अध्ययन गरी संशोधनका लागि सरकार र संसदीय समितिहरूसँग समन्वय गर्नेछ। वैदेशिक सहयोगमा बन्ने कतिपय विधेयकले निजी क्षेत्रलाई संकुचित पार्न सक्ने भन्दै इप्पान आफैँले पनि विधेयकको मस्यौदा तयार पारी सरकारलाई बुझाउने योजना बनाएको छ।
उद्यमीहरूको आचारसंहिता र ‘दृष्टिकोण पत्र’
ऊर्जा क्षेत्रप्रति समाज र सरकारी संयन्त्रमा रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न ऊर्जा उद्यमीहरूको आचारसंहिता तयार गरिने भएको छ। झन्डै ७० लाख जनताको लगानी रहेको यस क्षेत्रलाई मर्यादित बनाउन साधारण सभाबाट आचारसंहिता स्वीकृत गराइनेछ। यस्तै, निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण र व्यापारमा समेत सहभागी गराउन विशेष ‘दृष्टिकोण पत्र’ तयार पारिने अध्यक्ष डाँगीले बताए।
इप्पान डिजिटल बन्ने, आफ्नै भवन निर्माण गरिने
इप्पानलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यसहित प्रत्येक सदस्यलाई युजरनेम र पासवर्डमार्फत तथ्याङ्क हेर्न सक्ने व्यवस्था मिलाइनेछ। आगामी अधिवेशनदेखि अनलाइन मतदान प्रक्रिया सुरु गरिने प्रतिबद्धता समेत अध्यक्ष डाँगीले दोहोर्याए। यस्तै, इप्पानको सचिवालयलाई व्यवस्थित बनाउन आफ्नै भवन निर्माण गर्ने र जग्गा वा रकम सहयोग गर्ने दाताहरूको नाममा भवन र हलहरूको नामकरण गरिने योजना अघि सारिएको छ।
अन्तर्राष्ट्रिय ब्राण्डिङ र प्रविधि विविधीकरण
नेपालको ऊर्जा क्षेत्रको ब्राण्डिङ गर्न विदेश समन्वय उप–समिति गठन गरी अवैतनिक दूतहरूसँग समन्वय गरिने र अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना गरिने भएको छ। इप्पानले जलविद्युतका साथै सौर्य ऊर्जा, ग्रिन हाइड्रोजन, ब्याट्री स्टोरेज र बायोग्यासलाई समेत प्रोत्साहन गर्ने नीति लिनेछ। छिमेकी मुलुक भारत, चीन र बंगलादेशका लगानीकर्ताहरूसँग अनुभव साटासाट गर्न नियमित कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
एकताबद्ध इप्पान: सम्बोधनको अन्त्यमा अध्यक्ष डाँगीले निर्वाचनका दौरान देखिएका वैचारिक भिन्नताहरूलाई अन्त्य गर्दै इप्पान अहिले पूर्ण रूपमा एकताबद्ध भइसकेको स्पष्ट पारे।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




