नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

-



     सफल आवाज    
     असार ३ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३ जेठ । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा एक द्विपक्षीय सम्झौता भएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच कोषको तर्फबाट निर्देशक नवराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताका मुख्य बुँदाहरू:

  • कर्मचारीको दायरा: बैंकमा कार्यरत स्थायी, अस्थायी तथा करार सेवाका सबै कर्मचारीहरू यस योजनामा समेटिने छन् ।
  • कोषको व्यवस्थापन: कर्मचारीहरूको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको सम्पूर्ण व्यवस्थापन र कार्यान्वयन नागरिक लगानी कोषले गर्नेछ ।
  • खाता र भुक्तानी प्रक्रिया: कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउनेछ । साथै, बैंकबाट प्राप्त रकम र विवरणका आधारमा खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्नेछ ।
  • ब्याज र प्रतिफल: कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधाहरू कोषको नियमअनुसार प्राप्त गर्नेछन् ।

विशेष व्यवस्था:

आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको साविकको रकम र बहाल रहेका कर्जाहरूलाई समेत अब नागरिक लगानी कोषमा रकमान्तर गरी समायोजन गरिने सम्झौतामा उल्लेख छ ।

यस सम्झौतापश्चात एभरेष्ट बैंकका कर्मचारीहरूको सामाजिक सुरक्षा थप मजबुत हुने र अवकाश पछिको जीवन सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।