नेता महराद्वारा सक्रिय राजनीति नगर्ने घोषणा (वक्तव्यसहित)

-



     सफल आवाज    
     असार ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता कृष्णबहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको छ।

विगत केही वर्षदेखि ‘एट्रोफी’ (Atrophy) सम्बन्धी नशा र मांसपेशीको गम्भीर रोगबाट पीडित महराले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट बिदा बस्ने निर्णय गर्नुभएको हो।

बिहीबार (४ असार २०८३) एक वक्तव्य जारी गर्दै उहाँले आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य मात्र रहने जानकारी गराउनुभएको छ।

स्वास्थ्य समस्याका कारण बाध्यात्मक निर्णय

लामो समयदेखि नियमित उपचार, थेरापी र औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएको महराले वक्तव्यमा उल्लेख गर्नुभएको छ।

स्वास्थ्यकै कारण विगतजस्तै सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान दिन कठिन हुँदै गएपछि निकै गहौँ मनका साथ यो निर्णयमा पुगेको उहाँले स्पष्ट पार्नुभएको छ।

उहाँले यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको प्रष्ट पार्नुभएको छ।

४८ वर्षको कम्युनिष्ट आन्दोलनको यात्रा

विगत करिब ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव र संघर्षमा निरन्तर सहभागी रहँदै आउनुभएका महराले नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाल कम्युनिष्ट पार्टीसम्म आइपुग्दा आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको स्मरण गर्नुभएको छ।

अन्तिम श्वाससम्म समृद्ध नेपालको सपना जीवित रहनेछ

पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा आफू सधैँ इमानदार र प्रतिबद्ध रहेको उल्लेख गर्दै महराले भन्नुभएको छ, “मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ।”

उहाँले नयाँ पुस्ताका ऊर्जावान युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्नेमा दृढ विश्वास व्यक्त गर्दै युवाहरूको सफलतामै आफ्नो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहने उल्लेख गर्नुभएको छ। वक्तव्यको अन्त्यमा उहाँले आफ्नो लामो राजनीतिक यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।