
काठमाडौं, ४ असार। नेपाल बैंकर्स संघ (एनबीए) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष २२ बुँदे सुझाव पेस गरेको छ। देशको वर्तमान अर्थतन्त्रमा देखिएको सुस्तता, बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता (लगानीयोग्य रकम) र बढ्दो खराब कर्जा (एनपीएल) को चापलाई सम्बोधन गर्ने गरी संघले प्याकेजमै सुझावहरू अघि सारेको हो।
बैंकर्स संघले वित्तीय प्रणालीलाई गतिशील बनाउँदै सरकारको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी नीतिगत परिमार्जन गर्न माग गरेको छ।
सेकेन्डरी मार्केट र संस्थापक सेयरको रूपान्तरण मुख्य माग
संघले बैंकहरूले सरकारी सुरक्षण पत्रहरूमा गरेको लगानीलाई आवश्यकता परेको बेला तुरुन्तै नगदमा परिणत गर्न व्यवस्थित ‘सेकेन्डरी मार्केट’ (दोस्रो बजार) को स्थापना गरिनुपर्ने माग अघि सारेको छ। यसैगरी, सञ्चालनमा आएको १० वर्ष पूरा भइसकेका बैंकहरूको संस्थापक सेयरलाई क्रमशः सर्वसाधारण सेयरमा परिणत गर्न आवश्यक नीतिगत व्यवस्था गर्न समेत राष्ट्र बैंकलाई आग्रह गरिएको छ।
गैर–बैंकिङ सम्पत्ति लिजमा दिन र प्रोभिजनिङमा लचकताको प्रस्ताव
कर्जा असुली नभएर बैंकहरूले धितो सकारेका तर बिक्री हुन नसकेका गैर–बैंकिङ सम्पत्तिहरू लामो समयसम्म थुप्रिँदा बैंकिङ क्षेत्र मारमा परेको भन्दै संघले यस्ता सम्पत्तिलाई लिज वा भाडामा दिन पाउने गरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा संशोधन गर्न पहल गर्नुपर्ने बताएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रोभिजनिङ (कर्जा नोक्सानी व्यवस्था) मा केही लचकता अपनाउन र कर्जा नियमित भइसकेपछि पनि ३ महिनासम्म उही खराब वर्गमै राख्नुपर्ने विद्यमान प्रावधान हटाउन माग गरिएको छ।
बेस रेट गणना र ब्याजदरमा ‘रिस्क–बेस्ड प्राइसिङ’ को माग
बेस रेट (आधारदर) लाई थप व्यावहारिक र वैज्ञानिक बनाउन यसको गणना गर्दा सञ्चालन खर्च, ऋणपत्र निष्कासन खर्च, र निक्षेप सुरक्षण प्रिमियम जस्ता वास्तविक लागतहरू समावेश गरिनुपर्ने बैंकहरूको माग छ। साथै, ऋणीको जोखिम प्रोफाइल हेरेर बैंकहरूले प्रिमियम दर थपघट गर्न पाउने ‘रिस्क–बेस्ड प्राइसिङ’ को व्यवस्था गर्न र बैंकिङ सेवा शुल्कको सीमा तोक्नुको सट्टा खुला बजार प्रतिस्पर्धामा छोडिदिन सुझाव दिइएको छ।
विपन्न वर्ग कर्जाको सीमा घटाउन र प्राथमिकता प्राप्त क्षेत्र थप्न सुझाव
बैंकहरूको कर्जाको आकार ठूलो हुँदै गएको तर लघुवित्त क्षेत्रमा कर्जाको माग नभएकाले हाल कायम रहेको ५ प्रतिशतको विपन्न क्षेत्र कर्जाको सीमालाई घटाएर ३ प्रतिशत कायम गरिनुपर्ने संघको तर्क छ। यद्यपि, राष्ट्र बैंकले तोकेका प्राथमिकता प्राप्त क्षेत्रहरूमा अब स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि अनिवार्य रूपमा समावेश गरिनुपर्ने सकारात्मक सुझाव पनि संघले दिएको छ।
डिजिटल बैंकिङ र सुरक्षामा जोड
डिजिटल कारोबार र प्रणालीलाई थप सुरक्षित एवं झन्झटमुक्त बनाउन बैंकर्स संघले विशेष बुँदाहरू समेटेको छ:
- इन-एप नोटिफिकेसनलाई मान्यता: हरेक डिजिटल कारोबारमा अनिवार्य एसएमएस पठाउनुपर्ने व्यवस्थाको सट्टा मोबाइल एपमार्फत आउने ‘इन–एप नोटिफिकेसन’ लाई मान्यता दिनुपर्ने।
- डिजिटल ठगी नियन्त्रण: डिजिटल ठगीबाट ग्राहकलाई जोगाउन प्रहरी र बैंकहरूबीच सूचना आदानप्रदान गर्ने एउटा साझा प्लेटफर्म बनाउनुपर्ने।
- सेन्ट्रलाइज्ड केवाइसी: ग्राहकले पटक–पटक फरक बैंकमा विवरण बुझाउनुपर्ने झन्झट अन्त्य गर्न ‘सेन्ट्रलाइज्ड केवाइसी’ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने।
- क्यूआर इन्टरअपरेबिलिटी: फरक–फरक सञ्चालकका क्यूआर कोडबीच तुरुन्तै इन्टरअपरेबिलिटी लागू गरिनुपर्ने।
अन्य महत्त्वपूर्ण सुझावहरू:
- ऋणपत्रका लागि क्यापिटल रिडेम्सन रिजर्भ राख्नुपर्ने बाध्यता हटाई सो रकम बोनस सेयर जारी गर्न प्रयोग गर्न पाउनुपर्ने।
- पीई÷भीसी (PE/VC) फन्डमा गरिएको ५ प्रतिशतसम्मको लगानीलाई पुँजी कोषबाट घटाउनु नपर्ने व्यवस्था गरी लगानी प्रोत्साहन गरिनुपर्ने।
- बैंकहरूले वित्तीय साक्षरताका लागि गर्ने खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गणना गर्न पाउनुपर्ने।
- एएमएल÷सीएफटी (AML/CFT) जोखिम कम गर्न १० वर्षसम्म कारोबार नभएका खाता बन्द गर्ने व्यवस्थालाई ५ वर्षमा झार्नुपर्ने र डिजिटल माध्यमबाटै खाता बन्द गर्न सकिने सुविधा हुनुपर्ने।
- राष्ट्र बैंकका निर्देशनहरू कार्यान्वयनमा देखिने द्विविधा हटाउन एउटा साझा समन्वय संयन्त्र बनाउनुपर्ने।
बैंकर्स संघले बुझाएका यी सुझावहरूले बैंकिङ क्षेत्रमा रहेको विद्यमान शिथिलता चिर्न र बजारमा कर्जा प्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरिएको छ। अब राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा यी सुझावहरूलाई कसरी सम्बोधन गर्छ भन्ने कुरा चौतर्फी चासोको विषय बनेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




