संस्थापक शेयर खरिदबिक्रीमा राष्ट्र बैंकको कडाइ: १० बुँदे विवरण बुझाउनुपर्ने

-



     सफल आवाज    
     असार ५ गते २०८३ मा प्रकाशित



काठमाडौं, ५ असार। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक शेयर खरिदबिक्री तथा नामसारी प्रक्रियालाई थप पारदर्शी र कसिलो बनाएको छ।

पछिल्लो समय बैंकहरूको वित्तीय सुशासनमाथि प्रश्न उठिरहेका बेला केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै नयाँ सर्कुलर जारी गरेको हो।

नयाँ व्यवस्था अनुसार अब ठूलो परिमाणमा संस्थापक शेयर किन्ने वास्तविक धनीको पारिवारिक पृष्ठभूमिदेखि स्वदेश तथा विदेशमा रहेको वित्तीय आचरणसम्मका १० बुँदे कडा विवरण बुझाउनुपर्नेछ।

कुन अवस्थामा बुझाउनुपर्छ विवरण?

राष्ट्र बैंकको सर्कुलर अनुसार बैंक तथा वित्तीय संस्थाहरूको:

  • चुक्ता पूँजीको कुल ५ प्रतिशत वा
  • कुल २५ लाख रुपैयाँभन्दा बढी कायम हुने गरी संस्थापक शेयर खरिद वा नामसारी गर्दा खरिदकर्ताले आफ्नो विस्तृत विवरण बुझाउनुपर्नेछ।

एकै पटक वा पटक-पटक गरी उक्त सीमा नाघेमा सो शेयरको वास्तविक धनी वा हिताधिकारी व्यक्तिले तोकिएका विवरणहरू राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्ने नियम बनाइएको छ।

यी हुन् खुलाउनुपर्ने मुख्य १० विषयहरू:

१. पारिवारिक र व्यक्तिगत विवरण: शेयर खरिदकर्ता वा वास्तविक धनीको नाम, थर, ठेगाना, पारिवारिक विवरण तथा वास्तविक धनी र हिताधिकारीको स्पष्ट पहिचान।

२. स्वघोषणा: प्रचलित कानून बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा।

३. मुद्दा मामिला र कानूनी कारबाही: नेपाल वा विदेशमा कुनै पनि कसूरमा संलग्न भए/नभएको, तथा कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक र प्रशासनिक कारबाहीको प्रक्रियामा रहे/नरहेको विवरण (संलग्न भएको भए वर्तमान अवस्था समेत)।

४. राजस्व तथा सरकारी बक्यौता: अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला बमोजिम तिर्नु वा बुझाउनुपर्ने राजस्व तथा सरकारी बाँकी बक्यौता रहे वा नरहेको अवस्था।

५. कालोसूची सम्बन्धी विवरण: स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको विवरण। ६. स्वार्थको द्वन्द्व: लगानीकर्ताले सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको स्पष्ट पार्नुपर्ने।

७. वैदेशिक सम्पत्तिको घोषणा: लगानीकर्ता नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे/नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए/नभएको स्वघोषणा।

८. अनुभव र कार्य इतिहास: विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त गरेको जिम्मेदारी, पुरस्कार वा सजायको अवस्था तथा कार्य सफलताको उदाहरण खुल्ने विवरण।

९. वित्तीय आचरण: व्यक्तिको वित्तीय आचरण सम्बन्धी प्रमाणित कागजातहरू।

१०. संस्थागत लगानीकर्ताको हकमा वास्तविक धनीको विवरण: यदि शेयरधनी कुनै संस्था भएमा, सो संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकल, संयुक्त वा समूहगत रूपमा १५ प्रतिशत वा सोभन्दा बढी शेयर वा पूँजी लगानी गरेको वास्तविक धनीको समेत यस्तै विस्तृत विवरण।

पदाधिकारीहरूको विवरण पनि अद्यावधिक गर्नुपर्ने यो निर्देशन जारी हुँदाका बखत बहालमै रहेका संचालक, प्रमुख कार्यकारी अधिकृत (CEO) तथा उच्च व्यवस्थापन तहका पदाधिकारीको हकमा र पछि विवरणहरू परिवर्तन भएमा समेत सोही बमोजिमको अद्यावधिक विवरण लिएर राष्ट्र बैंकसमक्ष पेश गर्न निर्देशन दिइएको छ।

विज्ञहरूको मत

केन्द्रीय बैंकको यो नयाँ सर्कुलरले बैंकहरूको स्वामित्व संरचनामा अपारदर्शी पूँजी भित्रिने जोखिमलाई रोक्ने र वित्तीय प्रणालीको शुद्धीकरणमा ठूलो मद्दत पुग्ने बैंकिङ विज्ञहरूको विश्वास छ।