साना-मझौला आयोजना प्रवर्द्धन गर्न १० मेगावाटसम्मका जलविद्युत्‌को पीपीए खुला

-



     सफल आवाज    
     असार ५ गते २०८३ मा प्रकाशित



काठमाडौं, ५ असार । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेको छ। साना तथा मझौला आयोजनाको विकास, प्रवर्द्धन र लगानी विस्तारका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त निर्णय गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले साना तथा मध्यम स्तरका आयोजनाको विशेष प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिए। जलविद्युत् प्रवर्द्धकहरूको लगानीको सुरक्षाका निम्ति नयाँ पीपीए ‘टेक अर पे’ (Take or Pay) मोडेलमा गरिने मन्त्री श्रेष्ठले स्पष्ट पारे।

“वास्तविक लगानीकर्तालाई सहजीकरण गर्न मन्त्रालय सदैव प्रतिबद्ध छ। हामी निजी क्षेत्र मैत्री हुँदाहुँदै पनि सुशासनका सन्दर्भमा केही निर्मम बन्नुपर्ने अवस्था आएको छ। तसर्थ, लाइसेन्स राजको अन्त्य गर्दै आयोजना कब्जा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने अवस्था सिर्जना भएको छ,” मन्त्री श्रेष्ठले भने।

साना आयोजनाबाटै सुरु भएको इतिहास, ठूला आयोजनामा निजी क्षेत्र

नेपालको जलविद्युत् इतिहास ५०० किलोवाटको सानो क्षमताबाट सुरु भएर आज ठूला जलाशययुक्त आयोजनासम्म पुगेको छ। सुरुमा निजी क्षेत्रले साना तथा मझौला आयोजना निर्माणमा नै ध्यान दिएका थिए भने अहिले ठूला आयोजना निर्माणको चरणमा छन्।

हाल निजी क्षेत्रले ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त प्रकृतिको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्दै छ। यसअघि ८६ मेगावाट क्षमताको सोलु खोला जलविद्युत् आयोजना निर्माण गरिसकेको साहस ऊर्जाले यो आयोजना अगाडि बढाएको हो। यस्तै, तमोर इनर्जीले २८५ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गर्दै छ।

विद्युत् विकास विभागका अनुसार हाल १ मेगावाटभन्दा कम क्षमताका २३ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ, जसको कूल क्षमता १७.६५ मेगावाट छ। यस्तै, ५० मेगावाट क्षमताका ५९ वटा परियोजनाले सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएका छन्।

जलाशययुक्त आयोजनामा आकर्षक प्याकेज

जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको छ। यसअन्तर्गत जलाशययुक्त आयोजनामा शतप्रतिशत लगानी सुनिश्चित गरेमा पहिलो वर्षमै ४० प्रतिशतसम्म आईपीओ (IPO) जारी गर्न पाउने र लाइसेन्सको अवधि ५० वर्ष हुने विशेष व्यवस्था गरिएको छ।

ऊर्जा व्यापारमा उदारीकरण र ४६ अर्ब बजेट

सरकारले ऊर्जा व्यापारमा उदारीकरणको नीति लिँदै निजी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने भएको छ। निजी लगानीमै प्रसारण लाइन निर्माण गरी प्रसारण शुल्क (Wheeling Charge) लिएर विद्युत् व्यापार गर्ने कानुनी व्यवस्थाको प्रबन्ध गरिएको छ।

मन्त्रालयले आगामी आर्थिक वर्षभित्रै १३२ केभी क्षमताका ९ वटा, २२० केभी क्षमताका २ वटा र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना १ वटा गरी कूल १२ वटा प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। आगामी आवको अन्त्यसम्ममा ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइन करिब ७,०४८ सर्किट किलोमिटर सम्पन्न हुने अनुमान छ।

आगामी आर्थिक वर्षमा करिब ८०० सर्किट किलोमिटर थप प्रसारण लाइन निर्माण सम्पन्न गर्ने योजनाका साथ आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन र वितरण लाइन सुधारका लागि सरकारले करिब ४६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ।