राष्ट्र बैंकद्वारा सीईओको तलबभत्तामा अंकुश: जथाभाबी सुविधा बढाउन नपाइने

-



     सफल आवाज    
     असार ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ असार। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको मनलाग्दी तलब, भत्ता र सुविधा बढाउने प्रवृत्तीमा कडा अंकुश लगाएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक नयाँ मार्गदर्शन जारी गर्दै सीईओको पारिश्रमिकलाई संस्थाको कुल सम्पत्ति र कर्मचारी खर्चसँग प्रत्यक्ष आबद्ध गरिदिएको हो।

नयाँ व्यवस्था अनुसार अब बैंकिङ क्षेत्रका सीईओहरूको सेवा–सुविधा र कार्यसम्पादन मूल्यांकनमा व्यापक फेरबदल हुनेछ।

सिफारिस समितिको अनिवार्य व्यवस्था

अबदेखि सीईओको तलब, भत्ता तथा सुविधा निर्धारणका लागि सञ्चालक समिति सोझै जिम्मेवार हुने भए पनि त्यसको सिफारिसका लागि एक विशेष समिति गठन गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ। सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको संयोजकत्वमा अन्य दुई जना सञ्चालक रहने गरी तीन सदस्यीय ‘तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समिति’ गठन गर्नु पर्नेछ।

यो समितिले सीईओको योग्यता, अनुभव, संस्थाको पुँजीको प्रतिफल दर, व्यवसायको आकार, र जुनियर असिस्टेन्टदेखि सीईओबीचको पारिश्रमिक भिन्नताको विस्तृत समीक्षा गरेर मात्र सञ्चालक समितिलाई सिफारिस बुझाउनु पर्नेछ।

कार्यसम्पादन पारिश्रमिकमा २० प्रतिशतको सीमा

केन्द्रीय बैंकले सीईओहरूको कार्यसम्पादनमा आधारित पारिश्रमिकमा समेत बढीमा २० प्रतिशतको सीमा तोकेको छ। यस्तो पारिश्रमिक संस्थाको नाफा, निष्क्रिय कर्जा (NPL), पुँजीकोष अनुपात, तरलता र नियमनकारी व्यवस्थाको पालना जस्ता सूचकका आधारमा मात्र तय हुनेछ। सम्झौता बमोजिम कार्यसम्पादन गर्न नसकेमा सीईओहरूले यो पारिश्रमिक पाउने छैनन्।

भौतिक सुविधा र अन्य खर्चमा कडाइ

नयाँ मार्गदर्शनले सीईओहरूले पाउने भौतिक सुविधामा समेत कडा नियम लगाएको छ:

  • सवारी र ग्याजेट: कार्यकालभर एउटा मोबाइल, एउटा ल्यापटप र एउटा मात्र सवारी साधन उपलब्ध गराउन पाइनेछ।
  • अन्य खर्चको सीमा: पत्रपत्रिका, इन्टरनेट र टेलिफोन जस्ता खर्चका लागि निश्चित वार्षिक तलबको बढीमा ०.५० प्रतिशतसम्म मात्र खर्च गर्न पाइनेछ।
  • जरिवाना: तोकिएको सीमा नाघेर खर्च गरेमा उक्त रकम सीईओ आफैं वा निर्णय गर्ने पदाधिकारीहरूबाट असुल उपर गरिने राष्ट्र बैंकले चेतावनी दिएको छ।

कहाँ लागू हुने, कहाँ नहुने?

  • नयाँ नियुक्तिका हकमा: यो मार्गदर्शन जारी भएपश्चात् नियुक्त हुने नयाँ सीईओहरूको हकमा यो तोकिएको सीमा तत्कालै लागू हुनेछ।
  • हाल कार्यरतका हकमा: मार्गदर्शन लागू हुनुअघि नै करार भई कार्यरत रहेका सीईओहरूको तलब तोकिएको सीमाभन्दा बढी भए पनि हाललाई पुरानै कायम रहनेछ।
  • छुट पाउन संस्थाहरू: राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका संस्था, सरकारी स्वामित्वका बैंक, वैदेशिक लगानी २० प्रतिशतभन्दा बढी भएका संस्था र विदेशी बैंकका शाखा कार्यालयहरूको हकमा भने यो व्यवस्था अनिवार्य हुने छैन।