राष्ट्र बैंक आक्रामक: ११ वाणिज्य बैंकमा विशेष निरीक्षण

- नेपाल बैंक लिमिटेडमा सबैभन्दा बढी ५ पटक विशेष निरीक्षण

-



     सफल आवाज    
     असार ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ असार। नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई थप सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यका साथ निरीक्षण प्रणालीलाई तीव्र पारेको छ। केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा मुलुकका ११ वटा वाणिज्य बैंकहरूमा विशेष निरीक्षण (Special Inspection) सम्पन्न गरेको छ।

बैंकहरूको वास्तविक वित्तीय अवस्था, जोखिम व्यवस्थापनको अवस्था, कर्जा प्रवाहको गुणस्तर, संस्थागत सुशासन तथा नियामकीय व्यवस्थाहरूको पालना भए–नभएको सुक्ष्म मूल्याङ्कन गर्न राष्ट्र बैंकले यो कदम चालेको हो।

कुन बैंकमा कति पटक निरीक्षण ?

केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले बैंकहरूको जोखिमको प्रकृति र आवश्यकताका आधारमा निरीक्षण गरेको हो। जसमध्ये सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा सबैभन्दा बढी ५ पटक विशेष निरीक्षण गरिएको छ।

बैंक र निरीक्षण संख्याको विवरण यसप्रकार छ:

क्र.सं.वाणिज्य बैंकको नामविशेष निरीक्षण संख्या
१.नेपाल बैंक लिमिटेड५ पटक
२.हिमालयन बैंक लिमिटेड३ पटक
३.प्रभु बैंक लिमिटेड३ पटक
४.राष्ट्रिय वाणिज्य बैंक लिमिटेड२ पटक
५.एनआईसी एशिया बैंक लिमिटेड२ पटक
६.नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड१ पटक
७.नेपाल एसबीआई बैंक लिमिटेड१ पटक
८.सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड१ पटक
९.कृषि विकास बैंक लिमिटेड१ पटक
१०.नबिल बैंक लिमिटेड१ पटक
११.लक्ष्मी सनराइज बैंक लिमिटेड१ पटक

निरीक्षणको मुख्य उद्देश्य: वित्तीय स्थायित्व र संस्थागत सुशासन

पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा (NPL) को व्यवस्थापन र आन्तरिक सुशासनलाई लिएर विभिन्न चुनौतीहरू देखा परिरहेका बेला राष्ट्र बैंकको यो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

“बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास कायम राख्न र सम्भावित वित्तीय जोखिमलाई समयमै न्यूनीकरण गर्न विशेष निरीक्षण गरिएको हो। वित्तीय स्थायित्व कायम राख्न राष्ट्र बैंकले यस्ता नियमित तथा विशेष निरीक्षणलाई सधैं प्राथमिकता दिँदै आएको छ,” राष्ट्र बैंक स्रोतले जनाएको छ।

यस विशेष निरीक्षणका क्रममा भेटिएका कैफियतहरूका आधारमा राष्ट्र बैंकले सम्बन्धित बैंकहरूलाई सुधारात्मक कदम चाल्न निर्देशन दिने र आवश्यकता अनुसार कारबाही समेत अघि बढाउने गर्दछ।