
काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि ब्याज पुँजीकरण र बैंक खाता रोक्का/फुकुवा सम्बन्धी व्यवस्थामा व्यापक नीतिगत परिवर्तन गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार एक परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो।
नयाँ नीति अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले दीर्घकालीन प्रकृतिका परियोजनाहरूमा कर्जा प्रवाह गर्दा व्यावसायिक सञ्चालन वा उत्पादन सुरु भई नगद प्रवाह नहुँदासम्मको ग्रेस (मोराटोरियम) अवधिमा पाकेको ब्याजलाई पुँजीकरण गर्न सक्नेछन्। राष्ट्र बैंकले कम्तीमा २ वर्षपछि मात्र नगद प्रवाह सुरु हुने परियोजनाहरूलाई दीर्घकालीन परियोजनाका रूपमा स्पष्ट पारेको छ।
सञ्चालक समितिबाट पारित हुनुपर्ने, ग्रेस अवधि थपे २५% प्रोभिजनिङ
ब्याज पुँजीकरण गर्ने निर्णय सम्बन्धित बैंकको सञ्चालक समितिबाटै पारित हुनुपर्ने र यसका लागि स्पष्ट कार्यविधि बनाउनुपर्ने निर्देशिकामा उल्लेख छ। यद्यपि, केन्द्रीय बैंकले यसमा केही कडा नियम पनि ल्याएको छ:
- अवधि थपिएमा २५% नोक्सानी व्यवस्था: एकपटक तय गरिएको ग्रेस अवधि थप गरेर ब्याज पुँजीकरण गरिएमा त्यस्तो कर्जालाई ‘पुनरसंरचना’ मानिनेछ र त्यसबापत न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) कायम गर्नुपर्नेछ।
- काबु बाहिरको परिस्थितिमा १२.५% व्यवस्था: प्राकृतिक प्रकोप वा हुलदंगा जस्ता ऋणीको काबु बाहिरको परिस्थितिका कारण परियोजना क्षतिग्रस्त भई पुनः सञ्चालन गर्न २ वर्षभन्दा बढी समय लाग्ने भएमा, भाखा नाघेको सम्पूर्ण साँवा–ब्याज असुल भइसकेको अवस्थामा ग्रेस अवधिको ब्याज पुँजीकरण गर्न पाइनेछ। तर, यस्तो कर्जालाई पनि पुनरसंरचना मानी न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ।
वित्तीय अपराध न्यूनीकरणका लागि २४/७ संयन्त्र र ‘डेडिकेटेड’ नम्बर अनिवार्य
वित्तीय अपराध न्यूनीकरण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकले खाता रोक्का सम्बन्धी व्यवस्थामा ठुलो हेरफेर गरेको छ।
अबदेखि कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक वा लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि तत्काल रोक्का राख्न बैंकहरूले २४ सै घण्टा (२४/७) कार्य गर्ने गरी संयन्त्र मिलाउनुपर्नेछ।
नयाँ व्यवस्थाका मुख्य बुँदाहरू:
- बैंकहरूले आफ्नो वेबसाइटमा एउटा छुट्टै ‘डेडिकेटेड कन्ट्याक्ट नम्बर’ अनिवार्य रूपमा राख्नुपर्नेछ।
- अनुसन्धान अधिकारीहरूले विवरण माग गरेमा बैंकहरूले सोझै र यथाशीघ्र विवरण उपलब्ध गराउनुपर्नेछ।
- खाता रोक्का तथा फुकुवा सम्बन्धी सम्पूर्ण तथ्याङ्क एवं विवरण बैंकहरूले सुपरभाइजरी इन्फर्मेसन सिस्टम (एसआईएस) मार्फत तोकिएको ढाँचामा अनिवार्य रूपमा पठाउनुपर्नेछ।
राष्ट्र बैंकले तोकेको निर्देशन पालना नगरेमा वा वेबसाइटमा आएको आधिकारिक सूचनाका आधारमा काम कारबाही अघि नबढाएमा सम्बन्धित बैंक तथा जिम्मेवार अधिकारी नै व्यक्तिगत रूपमा जवाफदेही हुनुपर्ने चेतावनी समेत केन्द्रीय बैंकले दिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




