नाडाको स्वर्ण उत्सव समारोह सुरु, सप्ताहव्यापी कार्यक्रम गरिँदै

-



     सफल आवाज    
     असार १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ असार । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा ऐतिहासिक ‘स्वर्ण उत्सव समारोह’ भव्यताका साथ सुरु गरेको छ।

आज राजधानीमा आयोजित एक विशेष समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यता तथा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा स्वर्ण उत्सवको उद्घाटन सम्पन्न भएको हो।

वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडको पहलमा काठमाडौँमा स्थापना भएको नाडाले ५०औँ वर्ष पुगेको अवसरमा सप्ताहव्यापी रूपमा (असार १३ गतेदेखि १९ गतेसम्म) राजधानी र सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।

वाकाथन र पूर्व अध्यक्षहरूको सम्मान

स्वर्ण उत्सवलाई अविस्मरणीय बनाउन आजै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि दरबारमार्गस्थित होटल याक एण्ड यतिसम्म विशेष वाकाथन (Walkathon) कार्यक्रम आयोजना गरियो। उक्त वाकाथनमा विभिन्न विशिष्ट व्यक्तित्वहरू, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्षहरू, सदस्य कम्पनीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता थियो।

यसै ऐतिहासिक अवसरमा नाडाले संस्थाको विकास र विस्तारमा योगदान पुर्‍याउने आफ्ना पूर्व अध्यक्षहरूलाई विशेष सम्मान समेत गरेको छ।

५० वर्षमा नाडाका प्रमुख उपलब्धिहरू:

  • नेतृत्व र अधिवेशन: ५० वर्षको अवधिमा नाडाले २३ वटा अधिवेशनहरू सम्पन्न गरिसकेको छ भने हालसम्म २१ जना अध्यक्षहरूले संस्थाको सफल नेतृत्व सम्हालिसकेका छन्।
  • नियमित प्रकाशनहरू: संस्थाले आफ्नो वार्षिक प्रकाशनका रूपमा ३६औँ संस्करणको नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्री, ५१ौँ संस्करणको नाडा अटो न्यूज र १८ौँ संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरिसकेको छ।
  • नाडा अटो शो: नाडाले आगामी भदौ महिनामा १८ौँ संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।
  • पुरस्कार र प्रमाणीकरण: नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संघहरूमध्ये नाडा पटक-पटक ‘उत्कृष्ट वस्तुगत एशोसिएशन’ को पुरस्कारबाट सम्मानित भइसकेको छ। साथै, सन् २०१५ देखि यो संस्था ISO 9001:2015 QMS प्रमाणित संस्थाका रूपमा स्थापित छ।

सामाजिक उत्तरदायित्व: नाडाले व्यवसायिक हकहितका साथै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रूपमा विभिन्न सामाजिक महत्त्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र राष्ट्रिय विपत्तिहरूमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको स्मरण गराइएको छ।

उद्घाटन समारोहको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो।