
काठमाडौं, १५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
आज अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराउनुभएको हो ।
यही असार ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
‘लोभ र प्रभावमा नपरी काम गर्नुहोस्’
शपथ ग्रहणलगत्तै अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई कुनै पनि लोभ, लालच वा बाह्य प्रभावमा नपरी लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न कडा निर्देशन दिनुभयो । पुँजी बजारमा पुँजी परिचालनमार्फत देशलाई आर्थिक वृद्धिको लयमा फर्काउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने मन्त्री वाग्लेको भनाइ थियो ।
“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,” अर्थमन्त्री डा. वाग्लेले निर्देशन दिँदै भन्नुभयो, “म साथमा छु, सरकारले तपाईंलाई सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।”
समयसीमासहितको सुधार योजना माग
अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका लागि ठोस योजना आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष भट्टलाई हरेक दिन, हप्ता, महिना, छ महिना र एक वर्षको कार्ययोजना (टाइमलाइन) तत्काल पेस गर्न निर्देशन दिनुभयो । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्ताहरूमा त्रास सिर्जना गर्ने कार्य भइरहेको भन्दै उहाँले त्यस्ता गतिविधिलाई चिर्न र बजारमा आत्मविश्वास बढाउन नियमनकारी भूमिका कुशलतापूर्वक निभाउन आग्रह गर्नुभयो ।
मन्त्री वाग्लेले थप्नुभयो, “मन्त्रालयबाट तपाईंको काममा कुनै प्रकारको हस्तक्षेप हुने छैन । धेरै बोलेर होइन, नतिजा देखिने गरी काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।”
अध्यक्ष भट्टको प्रतिबद्धता
नवनियुक्त बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टले सरकार र अर्थमन्त्रीको योजना तथा मार्गदर्शनअनुसार पुँजी बजारको विकास र सुधारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रूपमा लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरूलाई कार्यान्वयनमा लैजाँदै बजारको समग्र विकासका लागि निरन्तर क्रियाशील रहने दृढता समेत व्यक्त गर्नुभयो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




