
काठमाडौं, १६ असार। नियामकिय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारवाही गरेको छ। राष्ट्र बैंकको कारवाहीमा परेका ६ लघुवित्त मध्ये ५ वटा संस्थामाथि ‘शिघ्र सुधारात्मक कारवाही’ (Prompt Corrective Action – PCA) प्रक्रिया अघि बढाइएको छ भने केही संस्थालाई अन्य भिन्न कसुरमा सचेत गराइएको छ।
पुँजीकोष घट्दा ५ लघुवित्तमाथि ‘शीघ्र सुधारात्मक कारवाही’
तोकिएको मापदण्ड अनुसार पुँजीकोष अनुपात (Capital Adequacy Ratio) कायम गर्न नसकेका कारण ५ वटा लघुवित्तहरू ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ (क) बमोजिम कारवाहीमा परेका हुन्।
कारवाहीमा परेका संस्थाहरू र तिनको पुँजीकोषको अवस्था:
| लघुवित्तको नाम | विवरण (अवधि) | कायम पुँजीकोष अनुपात |
| आरम्भ चौतारी लघुवित्त | आर्थिक वर्ष २०८२ असार मसान्त | ७.७७ प्रतिशत |
| सामुदायिक लघुवित्त | आर्थिक वर्ष २०८२ असार मसान्त | ६.१२ प्रतिशत |
| सीवाईसी नेपाल लघुवित्त | आर्थिक वर्ष २०८२ असार मसान्त | ६.२० प्रतिशत |
| नेरुडे मिर्मिरे लघुवित्त | आर्थिक वर्ष २०८२ असार मसान्त | ६.०१ प्रतिशत |
| गणपति लघुवित्त | २०८२ असोज मसान्त | ६.०६ प्रतिशत |
कारवाहीपछि यी संस्थाहरूमा के-के अंकुश लाग्छ?
- लाभांशमा रोक: यी लघुवित्तहरूले शेयरधनीहरूका लागि नगद लाभांश तथा बोनस शेयर घोषणा गर्न पाउने छैनन्।
- विस्तारमा रोक: नयाँ शाखा कार्यालयहरू विस्तार गर्न पाइने छैन।
- सुविधा वृद्धिमा रोक: संस्थाका सञ्चालकहरूको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी अधिकृत (CEO) लगायत उच्च व्यवस्थापनको तलब, भत्ता र सुविधा वृद्धि गर्न पाइने छैन।
- स्पष्ट योजना माग: राष्ट्र बैंकले यी संस्थाहरूको उच्च व्यवस्थापनसँग सुधारका कार्यहरूका लागि छलफल गर्नेछ र पुँजी वृद्धिको स्पष्ट योजना माग गर्नेछ।
धौलागिरी, सीवाईसी र नेरुडे मिर्मिरेलाई अन्य कसुरमा पनि कारवाही
शीघ्र सुधारात्मक कारवाहीका अतिरिक्त धौलागिरी लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तलाई अन्य नीतिगत उल्लंघनका कसुरमा राष्ट्र बैंकले सचेत गराएको छ:
- धौलागिरी लघुवित्त (सञ्चालक समिति सचेत): संस्थाको ‘कर्मचारी सेवा विनियमावली, २०८०’ को विनियम ९५ मा रहेको व्यवस्थाको मर्म विपरीत नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गरेको र कुनै स्पष्ट आधार बिना नै संस्थामा बहाल नरहेको अवधिको रकम नियम विपरीत भुक्तानी गरेको पाइएकाले, उक्त निर्णयमा संलग्न सञ्चालक समितिलाई अब उप्रान्त यस्ता कार्य नगर्न सचेत गराइएको छ।
- सीवाईसी नेपाल लघुवित्त (सञ्चालक समिति सचेत): सञ्चालक समितिले सवारी साधन खरिद गर्दा संस्थाको ‘आर्थिक प्रशासन विनियमावली’ मा भएको व्यवस्थाबमोजिम तोकिएको खर्च सीमा तथा अख्तियारी पालना नगरेकाले अब उप्रान्त यस्तो कार्य नगर्न सचेत गराइएको छ।
- नेरुडे मिर्मिरे लघुवित्त (CEO सचेत): संस्थाले कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम गरेको ८१.५५ करोड रुपैयाँ फिर्ता गरी आम्दानी जनाउँदा, उक्त रकम कुन-कुन ऋणीको हो भन्ने यकिन विवरण बिना नै आम्दानी लेखाङ्कन (Accounting) गरेको पाइएकाले राष्ट्र बैंकले संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) लाई अब उप्रान्त यस्तो कार्य नदोहोर्याउन सचेत गराएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




