नेप्से २४.६३ अंकले घट्याे, ३ अर्ब २५ करोडकाे कारोबार

-



     सफल आवाज    
     असार १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ असार। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। लगानीकर्तामा बिक्री चाप बढेसँगै नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा झरेको हो।

यससँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.०४ अंकले घटेको छ। फ्लोट इण्डेक्स १.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंकले पनि गिरावट जनाएको छ।

यद्यपि बजार परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

नेप्सेका अनुसार यस दिन ३६५ कम्पनीका ८७ लाख ३७ हजार कित्ता शेयर ७९ हजार २८६ पटक खरिदबिक्री भएका छन्।

बजार ओरालो लागे पनि स्नो रिभर्स लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर प्रतिकित्ता ५९ रुपैयाँ २० पैसा बढेर ४५४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ११ प्रतिशतले वृद्धि भएको छ।

यता टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। कम्पनीको शेयरमूल्य मंगलबार १४.०३ प्रतिशतले घटेको हो।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रह्यो। बैंकको १३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको टक्सार पिखुवा खोला हाइड्रोपावरको करिब ११ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने याम्बालिङ्ग हाइड्रोपावर करिब १० करोड रुपैयाँ कारोबारसहित तेस्रो स्थानमा रहेको छ।

यस दिन बजारका १३ वटै उपसमूह राताम्मे बने। सबैभन्दा धेरै व्यापार उपसमूह १.७४ प्रतिशतले घट्यो। त्यसैगरी वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।

समग्रमा, कारोबार रकममा सुधार देखिए पनि बजारमा बिक्री चाप हावी हुँदा मंगलबारको कारोबार पूर्ण रूपमा नकारात्मक रह्यो।