वनमा निर्भर समुदायका लागि हरित जलवायु कोषबाट ८.५ मिलियन डलर अनुदान स्वीकृत

-



     सफल आवाज    
     असार १७ गते २०८३ मा प्रकाशित



काठमाडौं, १७ असार । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औं बैठकले नेपालको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न ८.५ मिलियन अमेरिकी डलर (करिब सवा एक अर्ब रुपैयाँ) अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ ।

बुधबार बसेको बोर्ड बैठकले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको परियोजनाका लागि उक्त रकम स्वीकृत गरेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रियाअन्तर्गत यो परियोजना विकास गरेको हो । कूल ९.२ मिलियन अमेरिकी डलर लगानी रहने यस चार वर्षे पहलमा बाँकी रकम सह-लगानीका रूपमा रहनेछ ।

कर्णालीका चार जिल्ला लक्षित, ५ लाखभन्दा बढी लाभान्वित हुने

नाजुक पर्वतीय पारिस्थितिकीय प्रणाली, कठिन भूगोल, उच्च गरिबी र बाढी-पहिरो तथा लामो खडेरीजस्ता जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको कर्णाली प्रदेशलाई मुलुककै सबैभन्दा संवेदनशील क्षेत्र मानिन्छ । यस परियोजनाले कर्णालीका जाजरकोट, जुम्ला, डोल्पा र दैलेख जिल्लाका ३१ स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह, महिला तथा सीमान्तकृत समुदायलाई समेट्नेछ ।

परियोजनाबाट १ लाखभन्दा बढी मानिसले प्रत्यक्ष र ४ लाखभन्दा बढीले अप्रत्यक्ष रूपमा जलवायु उत्थानशीलताको लाभ पाउने अपेक्षा गरिएको छ । विशेषगरी महिला, आदिवासी जनजाति, दलित तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता र समान लाभ सुनिश्चित गर्न यसमा विशेष जोड दिइएको छ ।

परियोजनाका मुख्य कार्य र प्राथमिकताहरू:

  • पारिस्थितिकीय पुनःस्थापना र प्रकृतिमा आधारित समाधान
  • जलवायु-सहनशील जीविकोपार्जनका अवसरहरूको सिर्जना
  • समुदायमा आधारित पूर्वसूचना प्रणालीको स्थापना
  • स्थानीय संस्थाहरूको संस्थागत क्षमता सुदृढीकरण
  • राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०) र एनडिसी ३.० को कार्यान्वयनमा सहयोग

सङ्घीय संरचनाअनुरूप कार्यान्वयन गरिने

यो परियोजना राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थाहरूबीचको त्रिपक्षीय साझेदारी र सुदृढ समन्वयमार्फत कार्यान्वयन हुनेछ । एनटिएनसीले सहकार्यान्वयन निकायको भूमिका निर्वाह गर्नेछ भने नेपाल सरकारका तर्फबाट थप दुई निकाय संलग्न हुनेछन् । अर्थ मन्त्रालयले जिसिएफ स्रोतको प्रवाह र व्यवस्थापन गर्नेछ भने कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशस्तरीय नेतृत्वदायी भूमिका खेल्नेछ ।

नेतृत्वको प्रतिक्रिया: “जलवायु वित्त पहुँचमा नेपालको ठुलो उपलब्धि”

प्रस्ताव स्वीकृत भएपछि कृषि, वन तथा पर्यावरणमन्त्री एवं एनटिएनसीका अध्यक्ष गिता चौधरीले यसलाई नेपालको जलवायु सहनशीलताको मुद्दामा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा भनेकी छिन् । उनले भनिन्, “यस लगानीमार्फत हामी सहनशील पारिस्थितिकीय प्रणालीलाई सुदृढ गर्दै पेरिस सम्झौताअन्तर्गत नेपालका प्रतिबद्धतालाई अगाडि बढाइरहेका छौँ ।”

त्यस्तै, अर्थ मन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख एवं जिसिएफका लागि एनडिए फोकल प्वाइन्ट धनीराम शर्माले यस स्वीकृतिले अन्तरराष्ट्रिय जलवायु वित्त पहुँच र व्यवस्थापनमा नेपालको बढ्दो संस्थागत क्षमतालाई प्रमाणित गरेको बताए । एनटिएनसीका सदस्य-सचिव डा. चिरञ्जीवीप्रसाद पोखरेलले सरकारी निकाय र स्थानीय समुदायसँग सहकार्य गर्दै प्रकृतिमा आधारित दीर्घकालीन समाधानका लागि कोष उत्साहित रहेको उल्लेख गरे ।

यो परियोजना प्रस्ताव विकासमा एनटिएनसीका जलवायु परिवर्तन विभाग प्रमुख डा. मनिषराज पाण्डे र लीना चालिसेले मुख्य भूमिका निर्वाह गरेका थिए ।