लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालद्वारा ‘महिला सुरक्षा घर’मा किचेन,डाइनिङ हल निर्माण र भान्साका सामाग्री हस्तान्तरण

-



     सफल आवाज    
     असार १८ गते २०८३ मा प्रकाशित



पाेखरा, १८ असार । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालद्वारा ‘महिला सुरक्षा घर’मा किचेन,डाइनिङ हल मर्मत तथा निर्माण र भान्साका सामाग्री हस्तान्तरण गरिएकाे छ । लायन्स क्लब्स अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसिआइएफ) बाट लायन बर्ष २०२५/२६ मा डिसिजि ग्रान्टबाट प्राप्त १० लाख बराबरकाे सामाग्री पोखराको कोपिला नेपालद्वारा संचालित “महिला सुरक्षा घर”मा हस्तान्तरण गरिएकाे हाे।

लायन्स क्लब अफ पोखरा संगम, लायन्स क्लब अफ पाेखरा पिस चौतारी र काेपिला नेपाल समेतकाे सहयाेग र डिसिजि ग्रान्टबाट प्राप्त रकमबाट साे सुरक्षा घरमा किचेन मर्मत, डाइनिङ हल निर्माण, मार्वल, टायल, डाइनिङ टेवल, कुर्सी, फ्रिज, पंखा, वाशिङ मेसिन, राइसकुकर, इन्डक्सन चुल्हाे, ग्यास सिलिन्डर, किचेनका भाँडाकुँडा तथा माग अनुसारको खाध्यान्न सामाग्री एक समारोह बीच डिष्ट्रिक्ट ३२५ के नेपालका लायन बर्ष २०२५ /२०२६ का डिष्ट्रिक्ट गभर्नर दुर्गाप्रसाद हुमागाईले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै डिष्ट्रिक्ट गभर्नर हुमागाईले लायन्सकाे याे सहयाेगबाट महिला सुरक्षा घरमा रहेका महिला तथा बालबालिकाहरू अत्यन्तै खुसी भएकाे र उनीहरूमा देखिएकाे खुसीले हामीलाइ सेवा कार्यमा लाग्न थप प्रेरणा मिलेकाे बताए ।

कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले लायन्सबाट प्राप्त याे सहयाेगले महिला सुरक्षा घरमा रहेका महिला तथा बालबालिकाहरूलाइ ठुलाे सहयाेग पुगेकाे बताउदै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपाल परिवारलाइ धन्यबाद दिइन् ।

डिष्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईकाे अध्यक्षतामा सम्पन्न उक्त सहयाेग हस्तान्तरण कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका एमडि काेअर्डिनेटर लायन दिपक श्रेष्ठ, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन बिशेस्वर आचार्य, कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाल, कोपिला नेपालका प्रोग्राम काेअर्डिनेटर तिर्थ थापा लगायतले मन्तब्य राखेका थिए।

कार्यक्रममा डिष्ट्रिक्ट फस्ट लेडी सरिता दाहाल हुमागाइ, डिष्ट्रिक्ट चिफ एड्भाइजर लायन टिकाराम सापकाेटा लगायत डिष्ट्रिक्टका लायन लिडर तथा पदाधिकारी र सदस्यहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । याे सहयाेग हस्तान्तरण कार्यक्रमकाे संयाेजन प्राेजेक्ट चेयरपर्सन एवं क्याबिनेट काेषाध्यक्ष लायन रामकुमार लामिछानेले गरेका थिए ।