
काठमाडौं, २० असार नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई आफ्नो आधिकारिक सुझाव बुझाएको छ। महासंघले हाल अर्थतन्त्रको बाह्य सूचक सबल रहे पनि आन्तरिक अर्थतन्त्र शिथिल रहेको औंल्याउँदै अबको मुख्य चुनौती ब्याजदर नभई लगानीको माग र पुँजी परिचालन भएको स्पष्ट पारेको छ.
वर्तमान आर्थिक परिदृश्य: बाह्य सूचक सबल, आन्तरिक शिथिल
महासंघद्वारा जारी प्रेस विज्ञप्ति अनुसार देशको वैदेशिक मुद्रा सञ्चिती ३८.३ प्रतिशतले बढेर २२.६ महिनाको वस्तु र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्थामा छ। चालु खाता ७२९ अर्ब र शोधनान्तर स्थिति ८६३ अर्ब ५६ करोडले बचतमा रही गत वर्षको तुलनामा दोब्बर बढी सुधार भएको छ।
तर, अर्कातर्फ कर्जाको औसत ब्याजदर ६.९ प्रतिशतमा झर्दा पनि निजी क्षेत्रको कर्जा प्रवाह ७.३ प्रतिशतबाट घटेर ५.७ प्रतिशतमा खुम्चिएको छ. बजारमा माग नहुँदा बैंकिङ प्रणालीमा १४ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ भने १० महिनामा ३७ खर्ब भन्दा बढीको तरलता प्रशोचन गर्नुपरेको चुनौतीपूर्ण अवस्था छ।
मुख्य सुझाव तथा निजी क्षेत्रको अपेक्षा
- ब्याजदर होइन, पुँजीगत क्षमता बढाउन जोड: अहिले बैंकहरूसँग कर्जा विस्तारका लागि आवश्यक पुँजीगत क्षमता (Capital Buffer) सीमित हुँदै गएको छ. त्यसैले ब्याजदर थप घटाउनु भन्दा पुँजी पर्याप्तता, प्रोभिजनिङ व्यवस्थामा यथार्थपरक लचकता तथा पुँजीगत राहतका उपायहरूमा ध्यान दिन महासंघले आग्रह गरेको छ।
- दोस्रो पुस्ताको वित्तीय सुधार (Financial Sector Reform 2.0): अब केवल ब्याजदर परिवर्तन गर्ने नीतिले मात्रै पर्याप्त परिणाम नदिने भन्दै बैंकिङ क्षेत्रको पुनःपुँजीकरण, निष्क्रिय सम्पत्ति व्यवस्थापन, र उत्पादनशील क्षेत्र लक्षित दोस्रो पुस्ताको वित्तीय सुधार आवश्यक रहेको औंल्याइएको छ।
- चालु पुँजी कर्जा मार्गदर्शनमा लचकता: निर्माण, पर्यटन, उत्पादन तथा मौसमी व्यवसायहरूको नगद प्रवाह फरक हुने भएकाले कार्यशील पुँजीसम्बन्धी मापदण्ड सबै क्षेत्रमा एउटै ढाँचामा लागू गर्नु व्यावहारिक नहुने महासंघको ठहर छ. यसको अनुपात (Working Capital Loan to Sales Ratio) हालको विषम परिस्थितिमा १.२५% बाट परिमार्जन गरी १.२०% गरिनु सान्दर्भिक हुने सुझाव छ।
- निष्क्रिय सम्पत्ति (NBA) व्यवस्थापन: बैंकहरूको स्वामित्वमा रहेका अर्बौँ रुपैयाँ बराबरका जफत तथा निष्क्रिय सम्पत्तिहरूलाई सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) मार्फत पुनः अर्थतन्त्रमा परिचालन गर्न कार्यान्वयनको चरणमा लैजानुपर्ने माग गरिएको छ।
- ओभरड्राफ्ट सुविधा पुनः सञ्चालन: कार्यशील पुँजी कर्जा मार्गदर्शनका कारण बन्द भएको ओभरड्राफ्ट सुविधालाई कुल स्वीकृत ऋणको २० प्रतिशतसम्म सीमित रूपमा पुनः सञ्चालन गर्न माग गरिएको छ।
कर्जा वर्गीकरण र नोक्सानी व्यवस्था (Provisioning) मा संशोधनको माग
महासंघले ३ महिना बक्यौताका आधारमै निष्क्रिय कर्जामा वर्गीकरण हुने व्यवस्था संशोधन गर्न माग गर्दै कर्जा नोक्सानी व्यवस्था (Loan-loss Provisioning) लाई छिमेकी देश भारतको अभ्यास हेरी निम्नानुसार परिमार्जन गर्न प्रस्ताव गरेको छ:
- असल कर्जामा: ०.७५% कर्जा नोक्सानी व्यवस्था
- १ देखि ३ महिनासम्म भाखा नाघेका कर्जा: १.२५%
- ३ देखि ६ महिनासम्म भाखा नाघेका कर्जा: १०%
- ६ देखि ९ महिनासम्म भाखा नाघेका कर्जा: १५%
- ९ देखि १२ महिनासम्म भाखा नाघेका कर्जा: २५%
उद्योग, स्टार्टअप र डिजिटल बैंकिङ प्रवर्द्धन
- डिजिटल वालेटको क्रस-बर्डर भुक्तानी: भारतसँगको समन्वयमा नेपाली डिजिटल वालेटहरू (eSewa, Khalti आदि) मार्फत भारतीय QR प्रणालीमा प्रत्यक्ष भुक्तानी शीघ्र कार्यान्वयन गरिनुपर्ने र भारतमा कार्डबाट खर्च गर्न पाउने मासिक सीमा १ लाखबाट बढाएर ३ लाख पुर्याउनुपर्ने सुझाव दिइएको छ।
- उद्यम उद्धार प्याकेज (Rescue Package): नोक्सानीमा रहेका उद्योगहरूलाई जानाजानी ऋण नतिर्ने (Willful) र परिस्थितिवश नतिर्ने (Un-willful) डिफल्टरका रूपमा स्पष्ट वर्गीकरण गरी ‘Un-willful’ का लागि अतिरिक्त प्रोभिजनिङ गर्नु नपर्ने गरी उद्धार प्याकेज ल्याउन माग गरिएको छ।
- स्टार्टअप र निर्यातमुखी उद्योग: नेपाल अति कम विकसित राष्ट्र (LDC) बाट स्तरोन्नति हुने संक्रमणलाई ध्यानमा राख्दै निर्यातमुखी उद्योग तथा स्टार्टअपहरूका लागि बिनाधितो वा आंशिक धितोमा सहुलियतपूर्ण पुनर्कर्जा र जोखिम साझेदारीका कार्यक्रमहरू ल्याउन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले वित्तीय अनुशासन र स्थायित्वसँग कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै, सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मौद्रिक नीतिले निजी क्षेत्रको खस्किएको आत्मविश्वास बढाउने र निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने वातावरण निर्माण गर्ने विश्वास लिएको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




