
काठमाडौं, २१ असार | आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई समयानुकूल बनाउँदै बजेटले सम्बोधन गर्न नसकेका विषयहरूलाई समावेश गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको अर्थ समितिको आज बसेको बैठकमा पूर्वगभर्नरहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र निजी क्षेत्रका छाता सङ्गठनका प्रमुखहरूले खस्कँदो अर्थतन्त्रको सुधारका लागि मौद्रिक नीतिले विशेष जोड दिनुपर्ने बताएका हुन् ।
केन्द्रीय बैंकको स्वायत्तता र नीतिगत सन्तुलनमा जोड
बैठकमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मुलुकको अर्थतन्त्रलाई स्थिर बनाउने गरी मौद्रिक नीति तय हुनुपर्ने धारणा राख्नुभयो । वित्तीय नीति (बजेट) र मौद्रिक नीतिबीच तादम्यता हुनुपर्नेमा जोड दिँदै उहाँले केन्द्रीय बैंकको स्वायत्ततालाई कायम राख्नुपर्ने बताउनुभयो ।
अर्का पूर्वगभर्नर महाप्रसाद अधिकारीले आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागू गरिएका नीतिहरू सहजताका नाममा पूर्ण रूपमा हटाउन नहुने तर्क गर्नुभयो । हाल देशको मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिति सन्तोषजनक रहेकाले ब्याजदर तथा अन्य मौद्रिक उपकरणलाई थप कसिलो बनाउनु नपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको मुख्य उद्देश्य मुद्रास्फीति नियन्त्रण गर्ने र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भएको उल्लेख गर्नुभयो । बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा (NPL) व्यवस्थापनका लागि तत्काल ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्न उहाँले सुझाव दिनुभयो ।
निजी क्षेत्रको माग: अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले निजी क्षेत्रका सबै समस्या समेट्न नसकेकाले बाँकी मागहरू मौद्रिक नीतिमार्फत समाधान गरिनुपर्ने बताउनुभयो । देशमा रोजगारी र उत्पादन बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।
बैठकमा नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष भीमप्रसाद घिमिरे र अर्थविद् नरबहादुर थापाले पनि वर्तमान आर्थिक शिथिलता चिर्ने गरी समयानुकूल नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
बैंकिङ क्षेत्रको माग: कर्जा वर्गीकरण र खराब कर्जामा लचकता
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले परिस्थितिवश ऋण तिर्न नसकेका ऋणी र नियतवश (जानाजान) नतिर्नेहरूको वर्गीकरण स्पष्ट हुनुपर्ने माग गर्नुभयो । बैंकिङ प्रक्रियालाई सरल बनाउन कानुनी सुधारको आवश्यकता रहेको उहाँको तर्क थियो ।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले विद्यमान आर्थिक शिथिलतालाई ध्यानमा राखेर कर्जा नोक्सानीसम्बन्धी (Loan Loss Provision) प्रावधानमा केही परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (CBFIN) का अध्यक्ष प्रचण्ड श्रेष्ठले बैंकिङ क्षेत्र दबाबमा रहेकाले केन्द्रीय बैंकले अभिभावकीय भूमिका खेल्नुपर्ने बताउनुभयो । सूक्ष्म निगरानी (Watchlist) र खराब कर्जाको वर्गीकरणमा थोरै मात्र लचकता अपनाए पनि बजारमा सकारात्मक सन्देश जाने उहाँले उल्लेख गर्नुभयो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




