
काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार) २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बोलकबोल तथा निष्कासन गर्ने भएको छ ।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ (NRB Bond 2084 ‘Gha’) जारी गर्न लागेको हो ।
यस ऋणपत्र खरिदका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् ।
बोलकबोल र ब्याजदर निर्धारण
ऋणपत्र खरिदका लागि आज दिउँसाे ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम (Online Bidding System) मार्फत मात्र बोलकबोल गर्न सकिनेछ । यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोल गर्दा बहुब्याजदरमा पनि बोल गर्न सकिने व्यवस्था छ ।
ऋणपत्रका मुख्य विशेषताहरू र सर्तहरू:
- अवधि र भुक्तानी: यो १ वर्ष अवधिको ऋणपत्र हो । यसको साँवा भुक्तानी २०८४ असार २२ गते हुनेछ भने ब्याज अर्धवार्षिक (प्रत्येक ६ महिनामा) रूपमा भुक्तानी गरिनेछ ।
- लगानी सीमा: इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (२० अर्ब) सम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।
- धितोको रूपमा प्रयोग: यस ऋणपत्रलाई नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा प्रयोग गर्न सकिनेछ ।
- तरलता अनुपातमा गणना: यस ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन । तर, वैधानिक तरलता अनुपात (SLR) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।
- बाँडफाँट प्रक्रिया: बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी एकल ब्याजदर (Single Rate) मा ऋणपत्र बिक्री गरिनेछ । समान ब्याजदर बोल गर्नेहरूको रकम कुल निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक रूप (Pro-rata Basis) मा बाँडफाँट गरिनेछ ।
कारबाहीको व्यवस्था: ऋणपत्र निष्कासन मितिमा सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम रद्द गरिनेछ । साथै, सो रकमको २.५० प्रतिशत हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार र ब्याजदर करिडोरका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




