
काठमाडौं, २५ असार । नेपाल बीमा प्राधिकरणले बीमा बजारमा लागू गरिएको जोखिममा आधारित पूँजी (आरबीसी) सम्बन्धी नीतिलाई अझ बढी व्यवहारिक र समयसापेक्ष बनाउने प्रतिवद्धता जनाएको छ। बीमकहरूबाट आउने रचनात्मक सुझावहरूलाई समेट्दै यस व्यवस्थालाई परिमार्जन गर्दै लैजाने प्राधिकरणको योजना छ।
ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आज एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। आरबीसी कार्यान्वयनको दुई वर्ष पुगेको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा बीमकहरूले आफ्ना अनुभव साटासाट गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने परिमार्जनका विषयमा घनिभूत छलफल गरेका थिए।
संक्रमणकाल सफल, आगामी यात्रा सहकार्यको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजीको कार्यान्वयन चुनौतीपूर्ण भए पनि सफलतापूर्वक अगाडि बढिरहेको दाबी गरे। दुई वर्षे संक्रमणकालमा देखिएका सहजता र जटिलता दुवै पक्षलाई केलाउन आवश्यक रहेको औंल्याउँदै उनले भने, “अब कसरी अझ परिपक्व ढंगले अगाडि बढ्ने भन्नेबारे बीमकहरूले ठोस सुझाव दिनुपर्छ। तपाईँहरूकै सुझावका आधारमा यो व्यवस्थालाई थप परिमार्जन र परिष्कृत गर्दै लैजानेछौँ।”
त्यस्तै, प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले आरबीसीको सफल कार्यान्वयन निरन्तरको सिकाई, समीक्षा र अन्तर्राष्ट्रिय अभ्यासमा निर्भर रहने चर्चा गरे। सबै सरोकारवालाहरूको साझा मूल्याङ्कन र विश्लेषणका आधारमा यसलाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो।
प्राधिकरणको अपेक्षा र बीमकको प्रतिक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणकी उपनिर्देशक निर्मला मल्लले दुई वर्षको समीक्षा र भावी परिमार्जनका पाटाहरूमाथि प्रकाश पारिन्। उनले प्राधिकरणले बीमकहरूबाट तथ्याङ्कको शुद्धता, चुस्त प्रणाली, बीमाङ्की (Actuary) को क्षमता विकास, संस्थागत जोखिम संस्कृतिको प्रवर्द्धन र समयमैं रिपोर्टिङको बलियो अपेक्षा राखेको स्पष्ट पारिन्।
यता, जीवन बीमक संघ, नेपालका अध्यक्ष प्रवीण रमण पराजुलीले आरबीसी कार्यान्वयनका क्रममा संघले दिएका सुझावहरूलाई प्राधिकरणले सकारात्मक रूपमा ग्रहण गरेकोमा धन्यवाद ज्ञापन गरे। छलफलका क्रममा सहभागीहरूले आफ्ना अनुभव मात्र साटेनन्, जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिकाका विद्यमान र प्रस्तावित व्यवस्थामाथि आफ्ना जिज्ञासा र गुनासाहरू समेत राखेका थिए।
पहिलो पटक ‘स्टाटिस्टिकल यएर बुक’ प्रकाशन यसै बीच, कार्यक्रममा एउटा महत्वपूर्ण उपलब्धिका बारेमा पनि जानकारी दिइयो। नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्तप्रसाद बोहराले प्राधिकरणले यसै वर्षदेखि बीमा क्षेत्रका सम्पूर्ण आधिकारिक तथ्याङ्कहरू समेटेर वार्षिक पुस्तक प्रकाशन गर्न थालेको घोषणा गरे। यसैको पहिलो कडीका रूपमा ‘इन्स्योरेन्स स्टाटिस्टिकल यएर बुक २०८१/८२’ बजारमा आइसकेको उनले जानकारी दिए।
नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक करूणा थापाले सञ्चालन गरेको उक्त अन्तरक्रियामा जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) हरू, जोखिम व्यवस्थापन शाखाका प्रमुखहरू तथा आरबीसी सम्पर्क व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।फाेटाे-एआइबाट बनाइएकाे हाे ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




