
काठमाडौं, २६ असार । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकमा लगानी प्रवर्द्धन र आर्थिक विकासका लागि सरकारको भूमिका नियामकभन्दा सहजीकरणकर्ता र समन्वयकर्ता हुनुपर्ने सुझाव दिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भएको भेटवार्तामा महासंघका अध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन संरक्षणवाद, अनौपचारिक अर्थतन्त्र र प्रशासनिक झन्झटको चक्र तोड्न साहसिक निर्णय आवश्यक रहेकोमा जोड दिनुभयो।
अध्यक्ष श्रेष्ठले देशको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशत योगदान पुर्याउने निजी क्षेत्र हाल बजारमा न्यून माग, लगानीमा सुस्ती तथा अत्यधिक नियामकीय दबाबका कारण गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभयो। उहाँले सरकारको ७ प्रतिशत आर्थिक वृद्धिदर र आगामी ५-७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य हासिल गर्न अर्थतन्त्रलाई ‘क्रेडिट, लिक्विडिटी र एसेट ट्र्याप’ बाट बाहिर निकाल्नुपर्ने उल्लेख गर्नुभयो।
सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने हुँदा सरकार सहकार्य गरेरै अगाडि बढ्ने धारणा राख्नुभयो। उहाँले पूर्वाधार विकासको काम सरकारले र आर्थिक विकासको काम निजी क्षेत्रले गर्ने उल्लेख गर्दै त्यसको सहजीकरणका लागि सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
महासंघले बुझाएका मुख्य सुझावहरू:
- नीतिगत तथा कानुनी सुधार: बजेटमा घोषित कालोबजारी ऐनसहित १५ वटा पुराना ऐन खारेज गर्ने व्यवस्था, सनसेट कानुन, उधारो असुली कानुन र बौद्धिक सम्पत्ति संरक्षण कानुनलाई शीघ्र कार्यान्वयनमा ल्याउन माग।
- बैंकिङ तथा वित्तीय क्षेत्र: संकटमा परेका साना तथा मझौला उद्योगका लागि ‘पुनर्संरचना तथा उत्प्रेरणा प्याकेज’ ल्याउनुपर्ने, बैंकको वाचलिस्ट, कालोसूची सम्बन्धी प्रावधान र चालु पुँजी कर्जा मार्गदर्शनलाई ग्राहक-बैंकको सहमतिमा पुनरावलोकन गर्नुपर्ने तथा खराब कर्जा व्यवस्थापनका लागि कम्पनी ऐनको सीमित दायित्वको व्यवस्था पूर्ण पालना गर्नुपर्ने।
- कर तथा औद्योगिक सहजता: व्यवसायिक लागत घटाउन संघ, प्रदेश र स्थानीय तहको करलाई एकीकृत गरी ‘युनिफाइड ट्याक्स कोड’ लागू गर्नुपर्ने। उद्योगका लागि जग्गा हदबन्दीमा विशेष छुट तथा ईआईए (EIA) र आईईई (IEE) प्रक्रिया सरलीकरण गर्नुपर्ने। निर्यातकर्ताले पाउन बाँकी करिब ५ अर्ब रुपैयाँ बराबरको निर्यात प्रोत्साहन भत्ता तत्काल भुक्तानी गर्नुपर्ने।
- कृषि तथा पूर्वाधार: कृषि क्षेत्रको यान्त्रीकरणका लागि कन्ट्र्याक्ट फार्मिङको नीति ल्याउनुपर्ने तथा भेरी–बबई, सिक्टा र सुनकोशी–मरिण डाइभर्सन आयोजना आसपासका क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्नुपर्ने। सेज (SEZ), ईपीजेट (EPZ), सुख्खा बन्दरगाह र सुरुङमार्ग लगायतका पूर्वाधार पीपीपी (PPP) मोडेलमा विकास गर्नुपर्ने।
- सम्पत्ति विवरण र व्यावसायिक गोपनीयता: सरकारी बोर्ड तथा समितिमा संस्थागत प्रतिनिधित्व गर्ने निजी क्षेत्रका प्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाप्रति महासंघले असहमति जनाएको छ। साथै वित्तीय क्षेत्रका त्रुटिलाई फौजदारी मुद्दाभन्दा जरिवानामार्फत सम्बोधन गर्न र अनुसन्धानका क्रममा ‘मिडिया ट्रायल’ रोक्न माग गरिएको छ।
भेटमा अध्यक्ष श्रेष्ठले महासंघको पहलमा तयार भएको निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (PSPP) तथा उच्चस्तरीय आर्थिक सुधार आयोगका सिफारिसहरू तत्काल कार्यान्वयनमा लैजान प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




