जनता एग्रो एण्ड फरेस्ट्रीको विशेष एजिएम सम्पन्न: पिपुल्स हाइड्रो र समिट इनर्जीले ५ करोड लगानी गर्ने

-



     सफल आवाज    
     असार २८ गते २०८३ मा प्रकाशित



काठमाडौं, २८ असार । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रियामा रहेको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडको विशेष साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। उक्त सभाले संस्थागत लगानीकर्ताको लगानीसम्बन्धी प्रस्ताव स्वीकृत गर्नुका साथै पुँजी पुनः निर्धारण गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ।

दुई संस्थागत लगानीकर्ता भित्रिए, ५ करोडको शेयर कायम

कम्पनीको संस्थापक शेयरतर्फ जगेडा रहेको शेयरमा लगानी गर्न पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिले प्रस्ताव गरेका थिए। विशेष साधारणसभाले उक्त प्रस्तावलाई स्वीकृत गर्दै दुवै कम्पनीलाई प्रतिकित्ता रु. १२५ का दरले २/२ लाख कित्ता शेयर दिने निर्णय गरेको छ। यस निर्णयसँगै अब जनता एग्रोमा यी दुई कम्पनीको कुल ५ करोड रुपैयाँ बराबरको शेयर स्वामित्व रहनेछ।

२० देखि २७.५ प्रतिशतसम्म आईपीओ जारी गरिँदै

२ अर्ब ५० करोड रुपैयाँ जारी पुँजी रहेको जनता एग्रोले न्यूनतम २० प्रतिशतदेखि अधिकतम २७.५ प्रतिशतसम्म शेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। विशेष साधारणसभाले आईपीओ प्रयोजनका लागि सम्पूर्ण कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ।

कम्पनीले यसअघि २०८२ मंसिरमा सम्पन्न साधारणसभाबाटै आईपीओमा जाने निर्णय गरिसकेको थियो। प्रक्रियालाई व्यवस्थित, पारदर्शी र कानुनी ढाँचाअनुरूप सम्पन्न गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र क्रेडिट रेटिङका लागि केयर एज रेटिङ्सलाई नियुक्त गरिसकिएको कम्पनीले जनाएको छ।

नियमावली संशोधन: सञ्चालक समितिमा स्वतन्त्र र सर्वसाधारणको प्रतिनिधित्व

नेपाल धितोपत्र बोर्डको प्रचलित मापदण्ड, नियामकीय व्यवस्था र सुशासनलाई ध्यानमा राख्दै विशेष साधारणसभाले कम्पनीको नियमावलीको नियम २७ (३) संशोधन गरेको छ। नयाँ व्यवस्था अनुसार अब सञ्चालक समितिमा दुईजना स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

‘खेतीदेखि बिक्रेतासम्म’ को अवधारणा र आत्मनिर्भर अर्थतन्त्रको लक्ष्य

“प्राकृतिक स्रोत र मानव क्षमतालाई जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै ‘समृद्ध राष्ट्र र सुखी नेपाली’ को अभियानमा योगदान पुर्‍याउने हाम्रो प्रमुख उद्देश्य हो। तोकिएको मापदण्डमा बाली र फलफूल उब्जाउन करार सम्झौतामा किसानलाई जोड्दै जानेछौँ, जसले गर्दा किसानहरू आफ्नो लगानी र बजार सुनिश्चिततामा ढुक्क हुन सक्नेछन्।” — पवनकुमार गोल्याण, अध्यक्ष, सञ्चालक समिति

कम्पनीका बिजनेश एक्सिलेन्स तथा स्ट्राटेजी प्रमुख अंकिता बगेडियाले कम्पनी केवल व्यवसाय विस्तारमा मात्र सीमित नरही दीर्घकालीन मूल्य सिर्जना गर्ने एकीकृत कृषि प्रणाली निर्माणमा केन्द्रित रहेको प्रष्ट पारिन्। उनका अनुसार किसान, आधुनिक प्रशोधन, जिम्मेवार लगानी र बलिया नेपाली ब्रान्डहरूलाई एउटै मूल्य शृङ्खलामा जोडेर स्थानीय उत्पादन प्रवर्द्धन गर्ने तथा आयातमा निर्भरता घटाउने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ।