
काठमाडौं, ३० असार। निरन्तरको गिरावटले संकटमा परेको सेयर बजारलाई पुनरुत्थान गर्न र लगानीकर्ताको निराशा चिर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अघि सारेको ‘पूँजीबजार रेस्क्यू प्लान’ लाई अर्थ मन्त्रालयले हरियो झण्डा देखाएको छ।
बजारप्रतिको गुमेको विश्वास जगाउने उद्देश्यले तयार पारिएको उक्त विशेष कार्ययोजनालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वीकृति दिएका हुन्।
अर्थसंसारसँग कुराकानी गर्दै सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजारको समग्र सुधार र आधुनिकीकरणका लागि तयार गरिएको कार्ययोजना अर्थमन्त्रीबाट स्वीकृत भइसकेको जानकारी दिए। उक्त कार्ययोजनालाई आज वा भोलि (बुधबार) भित्रै सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरिरहेको उनले बताए।
अध्यक्ष भट्टका अनुसार आगामी एक वर्षभित्र पूँजीबजारको समग्र सुधार, आधुनिकीकरण र शुद्धीकरण गर्ने लक्ष्यसहित स्पष्ट कार्यतालिका र जिम्मेवारी तोकेर यो ‘रेस्क्यू प्लान’ निर्माण गरिएको हो। यस योजनामा तत्कालै कार्यान्वयनमा लैजानुपर्ने विषयहरूसहित मध्यकालीन र दीर्घकालीन रणनीतिहरू समेत समेटिएका छन्।
विशेषगरी बजारका संरचनागत कमजोरीहरू सुधार्ने, नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, कारोबार प्रणालीलाई आधुनिक बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने तथा बजारमा हुने सम्भावित विकृति र चलखेल नियन्त्रण गर्ने विषयहरूलाई यस योजनामा मुख्य प्राथमिकता दिइएको छ।
यो कार्ययोजनाको प्रभावकारी कार्यान्वयनबाट हाल संकटग्रस्त अवस्थामा गुज्रिरहेको पूँजीबजारले नयाँ गति लिने र लगानीकर्ताहरूमा आत्मविश्वास फर्किने विश्वास अध्यक्ष भट्टले व्यक्त गरे।
यता, लगानीकर्ताहरूले भने आफ्ना सुझावहरू समेत समेटेर यो योजना आजै सार्वजनिक हुनुपर्ने अडान राखेका छन्। लामो समयदेखि बजार सुधारको माग गर्दै आएका लगानीकर्ताहरूले योजना सार्वजनिक गर्न थप ढिलाइ गरिए बुधबारदेखि आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी समेत दिएका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




