पुँजी बजारलाई मुख्य आर्थिक स्तम्भ बनाउने घोषणा, ‘१० वर्षे रणनीतिक मार्गचित्र’ सार्वजनिक

-



     सफल आवाज    
     असार ३१ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३१ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ।

मंगलबार राति अबेर बोर्डले आगामी १० वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित यो रणनीतिक गुरुयोजना अघि सारेको हो।

हालको परम्परागत बैंक केन्द्रित वित्तीय प्रणालीको विकल्पका रूपमा पुँजी बजारलाई विकास गरिने बोर्डले जनाएको छ। नयाँ योजनाले आगामी दशकभित्र कुल गार्हस्थ्य उत्पादन (GDP) मा बजारको योगदान उल्लेख्य बढाउने धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले मार्गचित्रमा उल्लेख गरेका छन्।

यस्ता छन् सन् २०३६ सम्मका प्रमुख लक्ष्यहरू:

सार्वजनिक मार्गचित्रले सन् २०३६ सम्मका लागि मुख्य सूचकहरूमा ठूलो फड्को मार्ने प्रक्षेपण गरेको छ:

  • दैनिक कारोबार रकम: हाल औसत ८ अर्ब रुपैयाँ हाराहारीमा रहेको दैनिक कारोबार रकमलाई ३० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ।
  • बजार पुँजीकरण र GDP को अनुपात: हाल ७० देखि ८० प्रतिशत रहेको कुल गार्हस्थ्य उत्पादन र बजार पुँजीकरणको अनुपातलाई १५० प्रतिशतभन्दा बढी पुर्‍याउने योजना छ।
  • सूचीकृत कम्पनीहरूको संख्या: बजारमा सूचीकृत कम्पनीहरूको संख्या ५०० भन्दा बढी पुर्‍याइनेछ, जसमा २०० भन्दा बढी साना तथा मझौला (SMEs) कम्पनीहरू हुनेछन्।
  • डिम्याट खाता विस्तार: हाल करिब ७७ लाख ६६ हजार रहेको डिम्याट खाता संख्यालाई थप विस्तार गरी देशको ठूलो जनसंख्यालाई बजारमा आबद्ध गराइनेछ।

क्षेत्रगत असन्तुलन र एकल उपकरण मुख्य चुनौती

मार्गचित्रले नेपाली शेयर बजारको क्षेत्रगत असन्तुलन र एकल वित्तीय उपकरणको निर्भरतालाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ। हाल नेपालको शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको ४५ प्रतिशत र जलविद्युत् क्षेत्रको ३५ प्रतिशत गरी कुल ८० प्रतिशत हिस्सा ओगटेको छ। उत्पादन, कृषि, सूचना प्रविधि र सेवा क्षेत्रको उपस्थिति न्यून हुँदा बजारमा प्रणालीगत जोखिम उच्च रहेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, नेपाली बजार ९५ प्रतिशतभन्दा बढी साधारण शेयर (Equity) मा मात्रै सीमित छ। संस्थागत ऋणपत्र (Corporate Bonds), डेरिभेटिभ्स, कमोडिटी बजार र रियल इस्टेट इन्भेष्टमेन्ट ट्रष्ट (REITs) जस्ता वैकल्पिक उपकरणहरूको सोचेजस्तो विकास हुन नसकेको बोर्डको ठहर छ।

सात रणनीतिक स्तम्भ र तीन चरणको कार्यदिशा

पुँजी बजारको जग बलियो बनाउन बोर्डले कानूनी संरचना, बजार विविधीकरण, प्रविधि र लगानीकर्ता संरक्षणसहितका सात रणनीतिक स्तम्भ तय गरेको छ। यो मार्गचित्रलाई पूर्ण रूपमा कार्यान्वयन गर्न तीन चरणमा विभाजन गरिएको छ:

१. पहिलो चरण (सन् २०२६–२०२७): यस अवधिमा आवश्यक कानूनी र नीतिगत सुधारका कार्यहरू सम्पन्न गरिनेछ।

२. दोस्रो चरण (सन् २०२८–२०३०): यो चरणमा बजारको विस्तार र डिजिटल रूपान्तरणको काम सुरु गरिनेछ।

३. अन्तिम चरण (सन् २०३१–२०३६): यस अवधिमा विदेशी पोर्टफोलियो लगानीकर्ता (FPI) लाई बजारमा प्रवेश गराउँदै नेपाली पुँजी बजारको पूर्ण अन्तर्राष्ट्रियकरण गरिने कार्यदिशा तय गरिएको छ।