अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगहरू संकटमा: महासंघ अध्यक्ष श्रेष्ठ

-



     सफल आवाज    
     श्रावण १ गते २०८३ मा प्रकाशित



काठमाडौं, १ साउन । सरकारले देशमा लोडसेडिङ पूर्ण रूपमा अन्त्य भएको दाबी गरिरहे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र न्यून गुणस्तरको विद्युतका कारण उद्योगहरू गम्भीर संकटमा परेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले विशेषगरी तराईका औद्योगिक क्षेत्रहरूमा उद्योग सञ्चालनका लागि आवश्यक गुणस्तरको विद्युत (भोल्टेज) उपलब्ध हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

मेसिन नचलाउन फोनबाटै निर्देशन

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले उद्योगहरूमा नेपाल विद्युत प्राधिकरणबाट दैनिक रूपमा फोनमार्फत निश्चित समयसम्म केवल बत्ती मात्र बाल्न र उत्पादनमूलक मुख्य मेसिनहरू सञ्चालन नगर्न निर्देशन आउने गरेको खुलासा गरे । औपचारिक रूपमा घोषणा नगरिए पनि व्यवहारमा उद्योगहरूले चरम अघोषित लोडसेडिङ भोग्नुपरेको उनको भनाइ छ ।

“काठमाडौंलगायतका शहरी क्षेत्रमा लोडसेडिङ नहोला, तर सीमावर्ती तथा तराईका औद्योगिक क्षेत्रमा उद्योगहरूले अझै पनि अघोषित रूपमा विद्युत कटौतीको समस्या भोगिरहेका छन्,” अध्यक्ष श्रेष्ठले भने, “गुणस्तरीय भोल्टेज नहुँदा उद्योगका महँगा उपकरणहरूमा क्षति पुग्ने, उत्पादन लागत बढ्ने र समग्र उत्पादन प्रक्रिया नै ठप्प हुने अवस्था सिर्जना भएको छ ।”

प्रसारण र वितरण प्रणाली कमजोर

देशमा विद्युत उत्पादन बढ्दै गए पनि सोही अनुरूप प्रसारण र वितरण प्रणालीलाई समानान्तर रूपमा विस्तार एवं सुदृढ नगर्दा उद्योगहरूले अपेक्षित लाभ लिन नसकेको श्रेष्ठले बताए । उत्पादन क्षमता नै प्रभावित भइरहेको यो संवेदनशील विषयलाई प्राथमिकताका साथ उजागर गर्न उनले सञ्चारमाध्यमहरूलाई समेत आग्रह गरे ।

“लोडसेडिङ छैन भन्नु मात्र पर्याप्त हुँदैन, उद्योगहरूले भोगिरहेको वास्तविक धरातल पनि सार्वजनिक हुनुपर्छ,” उनले थपे, “एउटा उद्योगले व्यहोर्ने क्षति अन्ततः देशकै समग्र आर्थिक क्षति हो ।”

अध्यक्ष श्रेष्ठले मुलुकमा उद्योगमैत्री वातावरण निर्माण गर्न र विद्युत आपूर्ति सुनिश्चित गर्नका लागि प्रसारण पूर्वाधारको तीव्र विस्तार, स्थिर नीति तथा गुणस्तरीय आपूर्तिमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।