‘राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त हुन्छ’

-



     सफल आवाज    
     श्रावण ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ साउन । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा हाल कायम रहेका दुई जना डेपुटी गभर्नर नै पर्याप्त रहेको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा उनले राष्ट्र बैंकलाई थप डेपुटी गभर्नर आवश्यक नरहेको स्पष्ट पारेका हुन् ।

बैठकमा सहभागी बैंकर्सहरूले डेपुटी गभर्नरको संख्या दुईबाट बढाएर तीन पुर्‍याउनुपर्ने प्रस्ताव राखेका थिए । बैंकर्सहरूको उक्त प्रस्तावप्रति लक्षित गर्दै सांसद कँडेलले निजी क्षेत्रलाई किन धेरै डेपुटी गभर्नर चाहिएको हो भन्दै प्रश्न गरे ।

“दुई जना डेपुटी गभर्नर पर्याप्त नै हुन्छ, यसमा थप्नुपर्ने लजिक के हो ?” बैठकमा उनले भने, “यदि बाह्य क्षेत्रको प्रतिनिधित्व नै आवश्यक ठानिएको हो भने एक जना राष्ट्र बैंकभित्रबाट र अर्को एक जना बाहिरबाट नियुक्त गर्ने गरी व्यवस्था मिलाउन सकिन्छ ।”

राष्ट्र बैंककै बोर्डमा महिला नहुनु दुःखद

छलफलका क्रममा सांसद कँडेलले राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड) मा महिलाको प्रतिनिधित्व शून्य रहेको भन्दै गम्भीर प्रश्न उठाए । सरकारले सबै सार्वजनिक निकायका बोर्डहरूमा कम्तीमा एक जना महिला अनिवार्य रहने व्यवस्था गरेको स्मरण गराउँदै उनले राष्ट्र बैंक जस्तो जिम्मेवार निकायको आफ्नै बोर्डमा महिला सदस्य नहुनु र संशोधन विधेयकमा समेत यससम्बन्धी व्यवस्था नआउनु दुःखद भएको बताए ।

“राष्ट्र बैंकले सबै बैंकका बोर्डहरूमा न्यूनतम एक जना महिला हुनुपर्ने भनेर सर्कुलर जारी गर्‍यो र सोही अनुसार व्यवस्थापन पनि हुँदै आएको छ,” उनले भने, “तर राष्ट्र बैंकको आफ्नै बोर्डमा चाहिँ फेरि महिला छैनन् र अहिलेको विधेयकमा पनि यो प्रावधान समेटिएको छैन, यो सच्याइनुपर्छ ।”

सहकारी नियमनका लागि छुट्टै प्राधिकरण उपयुक्त

सांसद कँडेलले सहकारी क्षेत्रको नियमन र सुपरीवेक्षणका लागि राष्ट्र बैंकभन्दा छुट्टै प्राधिकरण नै उपयुक्त हुने धारणा राखे । सहकारी नियमनका लागि छुट्टै प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढिसकेकाले राष्ट्र बैंकको कार्यक्षेत्रबाट सहकारी क्षेत्रलाई अलग राख्नुपर्नेमा उनको जोड थियो ।

विगतमा सहकारी क्षेत्रको नियमन गर्नुपर्ने माग उठ्दा राष्ट्र बैंकले आफ्नो क्षमताले नभ्याउने भन्दै पन्छिन खोजेको स्मरण गराउँदै उनले भने, “पहिले राष्ट्र बैंकले क्षमताले भ्याउँदैन भनेर अलग्गिएरै बसेको हो । अहिले सहकारी संकटपछि छुट्टै प्राधिकरण बनाउने दिशामा काम अघि बढिरहेको अवस्थामा फेरि राष्ट्र बैंकलाई नै सोही जिम्मेवारी दिनु उपयुक्त हुँदैन ।”