नबिल बैंकले जित्यो युरोमनीका तीन प्रतिष्ठित अवार्ड, बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका पुनःस्थापित

-



     सफल आवाज    
     श्रावण ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ साउन। देशको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा महत्वपूर्ण अवार्डबाट सम्मानित भएको छ।

बैंक ‘युरोमनी अवार्डस् फर एक्सिलेन्स’अन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ को उपाधि प्राप्त गर्न सफल भएको हो। यी अवार्डमार्फत बैंकले नेपालको बैंकिङ क्षेत्रमा आफ्नो अग्रणी र नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ।

यी प्रतिष्ठित अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) का प्राथमिकतालाई अगाडि बढाउँदै साना तथा मझौला उद्यमहरूलाई पुर्‍याएको योगदानको उच्च कदर गरेको बैंकले जनाएको छ।

सिइओ मनोजकुमार ज्ञवालीको प्रतिक्रिया

युरोमनीजस्तो विश्वस्तरीय मञ्चबाट बैंक सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले बताएका छन्।

“युरोमनीबाट प्राप्त यी प्रतिष्ठित सम्मानहरूले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ। नेपाल्स बेस्ट बैंक फर ईएसजी तथा एसएमईज् जस्ता उपाधिहरू प्राप्त गर्नु भनेको ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारहरूले नबिल बैंकमाथि राख्नुभएको विश्वासको परिणाम हो,” सिइओ ज्ञवालीले भने, “यी सम्मानहरूले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएका छन्।”

प्राप्त अवार्डहरूको विशेषता र महत्व

  • नेपाल्स बेस्ट बैंक: बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहक केन्द्रित नवप्रवर्तन, डिजिटल रूपान्तरणमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टतालाई यो उपाधिले मान्यता दिएको छ।
  • नेपाल्स बेस्ट बैंक फर ईएसजी: दिगो वित्त (सस्टेनेबल फाइनान्स), जिम्मेवार बैंकिङ अभ्यास, हरित वित्तीय लगानी, वित्तीय समावेशीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले प्रदर्शन गरेको नेतृत्वलाई यसले सम्मानित गरेको छ।
  • नेपाल्स बेस्ट बैंक फर एसएमईज्: उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि सशक्तीकरणका लागि साना तथा मझौला उद्यमहरूलाई लक्षित वित्तीय सेवा र परामर्शमूलक सेवा उपलब्ध गराउन बैंकले खेलेको महत्वपूर्ण भूमिकालाई यो अवार्डले उजागर गरेको छ।

नबिल बैंकको उपस्थिति र सेवा

चार दशकभन्दा लामो समयदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो। बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६४ शाखा सञ्जाल र ३१५ एटिएम मेसिनमार्फत सेवा दिँदै आएको छ।

पछिल्लो समय बैंकले ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अगाडि बढाइरहेको छ।