
काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले भारतीय २०० र ५०० रुपैयाँ दरका नोट नेपालमा वैधानिक रूपमा प्रयोग गर्न तथा सटही गर्न सकिने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै आवश्यक प्रक्रियागत व्यवस्था पूरा गरी बिहीबारदेखि यो निर्णय कार्यान्वयनमा ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २०० र ५०० रुपैयाँका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँ (IC) सम्म नेपाल ल्याउन, भारत लैजान र प्रचलित नियमअनुसार सटही गर्न पाउनेछन्। अब यी दरका नोट नेपाली बैंक तथा वित्तीय संस्थाले पनि तोकिएको प्रक्रिया पूरा गरी सटही गर्नेछन्।
नेपाल सरकारको नीतिगत निर्णय तथा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को विदेशी विनिमयसम्बन्धी व्यवस्थासँग तालमेल मिलाएर यो निर्णय कार्यान्वयन गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार बैंकहरूले संकलन गरेका यी नोट नेपाल राष्ट्र बैंकमार्फत आरबीआईमा रहेको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएकाले नयाँ प्रणाली सञ्चालनमा ल्याइएको हो। यसले सीमावर्ती क्षेत्रका बासिन्दा, भारतीय पर्यटक र भारतमा काम गर्ने नेपालीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
पुराना नोट र २,००० का नोटमा भने प्रतिबन्ध कायमै
नयाँ सहजीकरणसँगै राष्ट्र बैंकले केही पुराना तथा उच्च दरका नोटहरूमा भने प्रतिबन्ध कायमै राखिएको स्पष्ट पारेको छ:
- पुराना नोट: सन् २०१६ नोभेम्बर ९ भन्दा अघि जारी भएका पुराना ५०० र १,००० रुपैयाँका नोट नेपालमा प्रयोग गर्न, साथमा राख्न वा सटही गर्न पाइने छैन।
- २,००० को नोट: भारतमा हाल प्रचलनमा रहेको २,००० रुपैयाँ दरको नोट नेपाल ल्याउन, लैजान वा कारोबार गर्न पूर्ण रूपमा प्रतिबन्धित छ।
- तेस्रो मुलुकको सीमा: भारतबाहेक अन्य कुनै पनि तेस्रो मुलुकबाट भारतीय मुद्रा नेपाल भित्र्याउन वा नेपालबाट बाहिर लैजान पाइने छैन।
विमुद्रीकरणपछिको समस्या सुल्झिँदै
भारत सरकारले सन् २०१६ नोभेम्बर ८ मा ५०० र १,००० रुपैयाँका नोटको विमुद्रीकरण (Demonetization) गरेपछि नेपालमा ठूला भारतीय नोटको कारोबार ठप्प भएको थियो। त्यतिबेला नेपाली बैंकिङ प्रणालीमा रोकिएका करिब ७ करोड रुपैयाँभन्दा बढी दरका पुराना नोट सटहीको विषय सुल्झिन नसकेपछि नेपालले पनि ठूला भारतीय नोटमा कडाइ गरेको थियो।
लामो समयको प्रयास र दुवै देशका केन्द्रीय बैंकहरूबिचको समन्वयपछि अन्ततः नयाँ ५०० र २०० का नोटले नेपालमा कानुनी मान्यता पाएका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




