सामाजिक सद्भाव कायम राख्न दलहरूको संयुक्त अपिल, सरकारको भूमिकामाथि प्रश्न

-



     सफल आवाज    
     श्रावण १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ साउन। सुनसरी लगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थिति, अशान्ति र सद्भाव खलबलिने जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख राजनीतिक दलहरूले संयमता र शान्ति कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजना गरिएको सर्वदलीय बैठकमा शीर्ष तथा प्रमुख नेताहरूको सहभागिता रहेको थियो।

बैठकमा सुनसरीको देवानगञ्ज लगायतका स्थानमा विकसित पछिल्ला घटनाक्रम र त्यसले निम्त्याएको सुरक्षा चुनौतीबारे गहन छलफल भएको छ।

बैठकपछि नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति-सुव्यवस्था कायम राख्न सबै दलहरू एकमत भएर संयुक्त अपिल (विज्ञप्ति) जारी गर्न सहमत भएको जानकारी दिए। नेताहरूले कुनै पनि आवेग वा उत्तेजनामा नआई धैर्यताका साथ समस्याको समाधान खोज्न सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन्।

सरकारको उपस्थितिमाथि प्रश्न

बैठकमा सहभागी नेताहरूले देशको संवेदनशील र गम्भीर परिस्थितिमा पनि प्रधानमन्त्री तथा गृहमन्त्रीको उपस्थिति र सक्रियता नदेखिएको भन्दै चासो व्यक्त गरेका छन्।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल लगायतका नेताहरूले शान्ति सुरक्षा कायम गर्न र भीड नियन्त्रण गर्न सरकार किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न उठाउँदै सरकारलाई थप जिम्मेवार बनेर कदम चाल्न आग्रह गरे।

यस्तै, बैठकले देशका अन्य भागहरूमा पनि सामाजिक तथा धार्मिक सद्भाव बिग्रिन नदिन स्थानीय तहमा संवाद र पहलकदमी बढाउनुपर्ने निष्कर्ष निकालेको छ।