नेप्सेमा लगातार गिरावट, परिसूचक २६८८ विन्दुमा; कारोबार ४ अर्ब २ करोडमा सीमित

-



     सफल आवाज    
     श्रावण १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो कारोबार दिन पनि गिरावट आएको छ। साताको बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेर बन्द भएको छ।

ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.७८ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंकले ओरालो लागेका छन्।

कारोबार रकममा पनि मन्दी

नेप्से परिसूचकसँगै बजारमा कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा बुधबार कारोबार रकम घटेर ४ अर्ब २ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ।

यस दिन कुल ३४३ वटा स्क्रिप (स्टक) को ४८ हजार पटकको कारोबारमार्फत ९७ लाख ७७ हजार कित्ता शेयर किनबेच भएका छन्।

एभरेष्ट कलरको निरन्तर आठौँ दिन सकारात्मक सर्किट

सुस्त बनेको बजारमा पनि केही कम्पनीको शेयरमा भने लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। एभरेष्ट कलरको शेयरमूल्य निरन्तर आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा १२९ रुपैयाँ १० पैसाले बढेर प्रतिशेयर ९९० रुपैयाँ १० पैसा पुगेको छ।

यस्तै, कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य करिब साढे १२ प्रतिशतले बढेको छ। अन्य वृद्धि हुने स्टकहरूको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कममै सीमित रह्यो।

हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको २२ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, खानी खोला हाइड्रोपावरको २१ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

११ उपसमूह राताम्मे, २ मा सामान्य सुधार

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहमा सामान्य सुधार देखिएको छ। यस दिन म्युचुअल फण्ड र ‘अन्य’ उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ भने बाँकी सबै उपसमूहका परिसूचक सामान्य अंकले घटेर राताम्मे भएका छन्।