हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

-



     सफल आवाज    
     श्रावण १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ साउन । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो।

आईपीओ निष्काशन तथा बिक्री कार्यका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी औपचारिक सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता कार्यक्रममा हिमाल डेन्टल हस्पिटलका प्रतिनिधिहरू लक्ष्मीप्रसाद प्रसाईं र डा. निरञ्जन आचार्यको पनि उपस्थिति रहेको थियो।

थप विवरण आउन बाँकी

कम्पनीले जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्ने तयारी गरेको बताए पनि कुल निष्काशन गरिने शेयर संख्या, प्रतिकित्ता अंकित मूल्य, आईपीओमार्फत संकलन हुने कुल रकम तथा निष्काशन हुने मिति भने हालसम्म सार्वजनिक गरिएको छैन।

सन् २००३ मा स्थापित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले लामो समयदेखि दाँत तथा मुखसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।