
काठमाडौं, १४ साउन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका तथा सिरहा लगायतका क्षेत्रमा केही दिनयता उत्पन्न तनावपूर्ण परिस्थिति र राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगप्रति गम्भीर ध्यानाकर्षण गराउँदै भर्त्सना गरेका छन्।
अध्यक्ष ओलीद्वारा जारी प्रेस वक्तव्यमा राज्यको बल प्रयोगका क्रममा देवानगञ्जका स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहाका गणेश यादवको गोली लागेर निधन भएको र अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। अमानवीय घटनाहरू रोकिनुको साटो थप उग्र बन्दै गएको र थप नागरिकको ज्यान गएको खबरले स्तब्ध र मर्महत बनाएको उल्लेख गर्दै उनले मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
देश जटिल र संवेदनशील घडीमा रहेको औंल्याउँदै अध्यक्ष ओलीले सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालाहरूलाई चार बुँदे अपिल जारी गरेका छन्:
ओलीका चार बुँदे अपिलहरू:
- १. संयमता र सामाजिक सद्भाव: जनतालाई आपसमा विभाजित गरेर अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरूप्रति सचेत रहन आग्रह गर्दै भ्रामक प्रचारको पछि नलागी संयमित हुन र सामाजिक सद्भाव तथा एकता कायम राख्न आह्वान गरिएको छ।
- २. सरकारको गैरजिम्मेवार भूमिका र मौनता: नागरिकको जीउधनको रक्षा गर्ने र संवादको माध्यमबाट समस्या समाधान गरी शान्ति कायम गर्ने मुख्य दायित्वबाट सरकार पन्छिएको आरोप लगाइएको छ। “राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शङ्कास्पद एवं भर्त्सनायोग्य छ,” विज्ञप्तिमा भनिएको छ। हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादबाट समाधान खोज्न माग गरिएको छ।
- ३. दलहरूबीच राजनीतिक सहकार्य: मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्न अपरिहार्य रहेको कुरा उल्लेख गरिएको छ।
- ४. राष्ट्रिय एकता र शान्तिका लागि आह्वान: द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन नसक्ने स्पष्ट पार्दै संवाद, सहमति र जिम्मेवार सहकार्यले नै मुलुकलाई निकास दिने बताइएको छ। राष्ट्रको अस्तित्व र सामाजिक सद्भावमाथि सङ्कट उत्पन्न हुन लागेको भन्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक समुदायका अगुवाहरूलाई एकजुट हुन आह्वान गरिएको छ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




