
काठमाडौं, १५ साउन । सुप्रिम वाइन नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा (Issue Manager) नेशनल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
दीर्घकालीन व्यवसाय विस्तार योजनाको महत्वपूर्ण चरणका रूपमा लिइएको यस सम्झौतामा साउन १४ गते काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा दुवै संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।
कृषि पर्यटन र उत्पादन क्षमता बढाउने रणनीति
२०७१ सालमा स्थापना भई काठमाडौंको बुढानीलकण्ठ–३ मा मुख्य कार्यालय रहेको सुप्रिम वाइन हाल नाफामूलक रूपमा सञ्चालन भइरहेको छ। कम्पनीले ‘AK IRA’ र ‘SUB MARINE’ ब्रान्डमार्फत प्रिमियम तथा फलफूलजन्य वाइन उत्पादन गर्दै आएको छ।
कम्पनीले अब आफ्नो उत्पादन क्षमता विस्तार गर्नुका साथै कृषि पर्यटन (Agro-Tourism) क्षेत्रमा समेत प्रवेश गर्ने रणनीति अघि सारेको छ। आईपीओबाट संकलित पूँजी निम्न क्षेत्रमा उपयोग गरिने कम्पनीले जनाएको छ:
- उत्पादन क्षमताको विस्तार
- ब्रान्ड प्रवर्द्धन र बजार विस्तार
- दीर्घकालीन व्यावसायिक योजनाहरूको कार्यान्वयन
नेपालमा वाइन बजारको व्यापक सम्भावना
कम्पनीको विश्लेषण अनुसार नेपालमा पछिल्लो एक दशकमा मदिरा उद्योग वार्षिक २० देखि २५ प्रतिशतको दरले विस्तार भए पनि वाइनको हिस्सा कुल मदिरा बजारमा करिब १ प्रतिशत मात्र छ।
उपभोक्ताको रुचिमा आएको परिवर्तन, बढ्दो आयस्तर र स्वदेशी प्रिमियम उत्पादनप्रतिको आकर्षणका कारण आगामी दिनमा वाइन बजार अझै व्यापक रूपमा विस्तार हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।
व्यावसायिक र पारदर्शी प्रक्रियाको अपेक्षा
बिक्री प्रबन्धकको जिम्मेवारी पाएको नेशनल क्यापिटल लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी तथा इजाजतप्राप्त मर्चेन्ट बैंकर हो।
सम्झौतापछि दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले आईपीओ प्रक्रियालाई व्यावसायिक, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्ने र सुप्रिम वाइनको पूँजी बजार प्रवेशको यात्रालाई थप बल पुग्ने अपेक्षा व्यक्त गरेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




